‘वसन्त’को अग्रिम टिकट बुकिङ खुल्यो

0 Shares

‘वसन्त’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्मले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले उच्च शो पाएको छ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा  ३३ शो दिएको छ। यो समाचार तयार पार्दासम्म मोफसलमा इटहरी बाहेकका हलमा वसन्तलाई क्युएफएक्सले ३८ शोसहित देशभर ७१ शो उपलब्ध गराएको छ।  फिल्म रिलिज हुने समय दुई दिन बाँकी रहेको हुँदा बुधबार र बिहीबार पनि शोहरू थपिनेछन्।

सिनेमाले सेन्सर बोर्डबाट यूनिभर्सल प्रमाणपत्र पाएको छ ।

प्रकाश सपुतको डेब्यू निर्देशन फिल्मको एफक्यूब सिनेमाज, बिग मुभिज, वन सिनेमाज, आइएनआई सिनेमाज चेन लगायतका हलले पनि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारीमा छन्। केही मल्टीप्लेक्स र सिंगल स्क्रिनहरूले देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले अग्रिम टिकट बुकिङ खुला गरेसँगै आफूहरूले पनि बुकिङ खुलाएको जानकारी दिएका छन्। फिल्मलाई अग्रिम टिकट बुकिङका क्रममा हलले उपलब्ध गराएको शो ट्रेन्ड हेर्दा फिल्म शुक्रबार ४ सय हाराहारी शोसहित प्रदर्शनमा आउने देखिन्छ।

नेपाल र विदेशमा एकसाथ रिलिज हुने फिल्म ‘वसन्त’मा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका छन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ। फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र बिरेन्द्र नारायण श्रेष्ठ छन्।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यू निर्देशनिय फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले फिल्मलाई वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै