गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ चौथो हप्तामा प्रवेश गरेको छ।
यो चलचित्रको लोकप्रियता दिनप्रतिदिन बढ्दै जाँदा चौथो हप्ताको पहिलो दिन करिब १४० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो।
‘अञ्जिला’ले भारतीय सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘सिकन्दर’लाई समेत नेपाल रिलिजमा धक्का दिएको छ। भारतमा राम्रो व्यापार गरिरहेको भए पनि नेपालमा भने ‘सिकन्दर’ कमजोर देखिएको छ। नेपाली दर्शकको रोजाइमा ‘अञ्जिला’ परेको कारण हल सञ्चालकहरू ‘सिकन्दर’का शोहरू खाली रहेको बताउँछन्।
यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिलाले नै प्रमुख भूमिका निभाएकी छन्। चलचित्रको प्रचारलाई थप बलियो बनाउन उनी विभिन्न सहरमा दर्शकमाझ प्रत्यक्ष संवाद गरिरहेकी छन्। काठमाडौं, धरान, इटहरी, झापा, विराटनगर, पोखरा र नेपालगन्ज लगायतका स्थानमा उनले दर्शकसँग भेटघाट गर्दै ‘अञ्जिला’ हेर्न आमन्त्रण गरिरहेकी छन्।
एन्जिला गत शुक्रबार ग्रीसबाट नेपाल आएकी थिइन्। उनी हाल ग्रीसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छन्। चलचित्रको प्रचार सकेपछि उनी पुनः ग्रीस फर्किनेछिन्।
यस चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।