डेनिला कार्कीले जितिन् मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि

0 Shares

विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छिन्।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले उपाधि हात पारेकी हुन्।

कार्यक्रमका मुख्य निर्णायक तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक जवाफ दिएर डेनिलाले यो उपाधि जितेकी हुन्। उपाधिसँगै उनले एक स्कुटर र आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गरेकी छिन्।

प्रतियोगितामा मिसेस नेपाल वर्ल्डको फस्ट रनरअपको उपाधि एलिना घिमिरेले, सेकेन्ड रनरअपको उपाधि किरण कार्कीले, र थर्ड रनरअपको उपाधि अनु कार्कीले प्राप्त गरे। उनीहरूले पनि विभिन्न उपहारहरू प्राप्त गरे।

यस्तै, सोही समारोहमा मिसेस नेपाल इन्टरनेशनलको उपाधि सुयशा राउतले र एमएस नेपाल इन्टरनेशनलको उपाधि रेश्मा घिमिरेले जिते। यी दुई विजेताहरूले चाँडै नै सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशनल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिनेछन्। फाइनलमा सारा तामाङ, निर्मला कार्की, रेश्मा घिमिरे, र नानु सिंह पुगेका थिए।

कार्यक्रममा नेपालकी अग्रज हास्य अभिनेत्री बसुन्धरा भुषाललाई ६ दशकदेखि नेपाली चलचित्रमा योगदान पु¥याएवापत मानार्थ मिसेस नेपाल वर्ल्ड सम्मान २०२४ बाट सम्मानित गरियो। माईती नेपालकी अध्यक्ष अनुराधा कोइराला, अभिनेता धिरेन शाक्य, रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनीकान्त झालगायतले भुषाललाई सम्मान अर्पण गरेका थिए।

सम्मानअघिको विशेष कार्यक्रममा बसुन्धरा भुषालको सम्मानमा उनका चर्चित चलचित्रका गीतमा नृत्य प्रस्तुत गरिएको थियो। बसुन्धराले सम्मानित भएकोमा खुशी व्यक्त गर्दै यो उपाधिले नेपाली चलचित्र क्षेत्रमा अझ धेरै काम गर्न प्रेरणा मिलेको बताइन्।

रिबन इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा विभिन्न शीर्षकमा उपाधि पनि प्रदान गरियो। माया लामाले पब्लिक च्वाइस र फेसबुक च्वाइस, नानु सिंहले भिवर्स च्वाइस, मस्ट ट्यालेन्ट, मल्टिमिडिया च्वाइस, अनु कार्कीले बेस्ट हेयर, सारा तामाङले हेल्दी स्किन, सुयशा राउतले बेस्ट र्याम्प वाक, नेहा कर्णले बेस्ट स्माइल, अम्बिका गौतमले मस्ट डिसिप्लिन, एलिना घिमिरेले मिसेस कन्जिनियलिटी, किरण कार्कीले ब्यूटी विथ कम्प्यासन, सृजना ब्यन्जनकारले बेस्ट पर्सनालिटी, सृष्टि अर्यालले बेस्ट फिजिक, सिमरन कार्कीले फेशन आइकन, सुसिला केसी दाहालले मस्ट क्रिएटिभ, सृजना श्रेष्ठले बेस्ट स्प्रिचुअल डान्स, सहारा तिमल्सिना अर्यालले फोटो जेनेक, र प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाइस उपाधि प्राप्त गरे।

प्रतियोगिताको मुख्य निर्णायकमा अनुराधा कोइराला, टेलिभिजनकर्मी भाष्करराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदारप्रसाद घिमिरे, अधिवक्ता जेनिश पहारी, अभिनेत्री उषा रजक, श्री केश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत थिए।

कार्यक्रमको सञ्चालन सेसेमी लिम्बुले गरेकी थिइन्। समारोहमा सञ्चारकर्मी ऋषि धमलाले यो उपाधिले नेपाली महिलालाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्लेटफर्ममा पु¥याउँदै उनीहरूको व्यक्तित्व विकासमा योगदान गरेको बताए।

गायक अर्जुन पाण्डेले आफ्ना चर्चित गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय बनाएका थिए। प्रतियोगिताको कोरियोग्राफी अश्विनी कान्त झाले, सह-कोरियोग्राफी ऐना गजुरेलले, र कार्यक्रम संयोजन रानी खरेल र सम्राट शाहले तथा व्यवस्थापन गंगा महर्जनले गरेका थिए।

सम्बन्धित समाचार

सबै