विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

0 Shares

विन्ध्यवासिनी फाउन्डेसनको आयोजना तथा मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा बिहीबार साँझ राजधानीमा चमकदमकका साथ १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्ड समारोहमा ‘जुन माया’ बोलको गीत सर्वोत्कृष्ट गीत घोषित भएको छ।

अवार्ड समारोहमा राज सिग्देलले ‘हृदयमा’ बोलको गीतबाट सर्वोत्कृष्ट गायक र उषा गजुरेलले ‘मौसम आउला’ बाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुमेका छन्।

त्यसैगरी श्रीधर अधिकारीले ‘छौ नि तिमी आहा’ बाट संगीतकार, बैकुण्ठ महत र बेनिशा पौडेलले ‘पिरिम गाडी’ बाट युगल गायन तथा विनोद श्रेष्ठ र उषा सुवेदीले ‘विदाई २’ बाट मोडल जोडीको अवार्ड चुमे।

गीत, संगीत र नृत्य प्रस्तुतिका साथ सम्पन्न समारोहमा अर्जुन सापकोटाले ‘बस्यौ अलक्कै’ बाट लोकदोहोरी गायक, कविता खत्रीले ‘नमस्ते ढोगदिया’ बाट लोकदोहोरी गायिका, खेम पुनले ‘मर्ने सुई लाईदेउ’ बाट लोकदोहोरी भाका, नारायण ज्ञवालीले ‘कन्या राशी’ बाट लोकदोहोरी गीत रचना, निशान बानियाँले ‘भाग्यमै रुन लेखेको’ बाट

लोकदोहोरी भिडियो निर्देशक तथा पल शाह र नारायणी खत्रीले ‘काईला’ बाट लोकदोहोरी मोडलको अवार्ड जिते।

१७ प्रतिस्पर्धात्मक अवार्ड प्रदान गरिएको समारोहमा विशाल घिमिरेले ‘मेरी बाठी माया’ बोलको गीतबाट आधुनिक गीत म्युजिक भिडियो निर्देशक, अमृत चापागाईंले ‘मायाली’ बाट भिडियो सम्पादक र पवन सुस्लिङले ‘मायालाई पानको पात’ बाट छायाँकारको अवार्ड चुम्दा प्रेम सापकोटा सोनुले ‘अरु त के भनु मायालु’ बाट गायनतर्फको नवप्रतिभाको अवार्ड पाए। त्यस्तै जुना विश्वकर्माले ‘माया आउने बस’ बाट पब्लिक च्वाइस अवार्ड र सोही गीतबाट अनिल पौडेलले पपुलर अवार्ड चुमे।

जूरी अवार्डतर्फ भने ‘नेपालमा रेल कहिले आउला’ बाट स्मृति तिमल्सिनाले निर्देशक, ‘कुरा बुझिदेउ न’ बाट सञ्जय देवकोटाले गायक, ‘हारेँ मैले माया’ बाट विक्रम बुढाथोकी र एलिना रायमाझीले अभिनय, ‘तल्लो बाटो’ बाट खेम सेन्चुरीले संगीतकार र ‘दुःख साटम्ला’ बाट सन्तोष सापकोटाले गीतको अवार्ड चुमे।

समारोहमा गीतकार राजेन्द्र थापालाई नगद एक लाख रुपियाँसहित विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८१ बाट सम्मानित गरिएको छ।

त्यसैगरी गायिका संगीता शाक्यलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मानबाट सम्मानित गरिएको छ भने गायिका निशा देसारलाई २५ हजार रुपियाँसहित प्रेमध्वज संगीत रत्न सम्मानबाट सम्मानित गरिएको छ।

समारोहमा पत्रकार शारदा थापालाई २५ हजार रुपियाँसहित विन्ध्यवासिनी कला पत्रकारिता सम्मान र लोकगायक शिरिष देवकोटालाई २५ हजार रुपियाँसहित झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिएको छ।

कार्यक्रममा गायक दुर्गेश थापालाई विशेष सम्मान गरिएको थियो। सो अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गीतकार राजेन्द्र थापाको सम्मानमा विभिन्न गायक–गायिकाले उहाँद्वारा रचित गीत प्रस्तुत गरेका थिए।

गायक सुमन कुमारले ‘पर लैजाउ फूलहरू’, गायिका बिन्दु परियारले ‘पोहोर साल खुशी फाट्दा’ तथा गायक डेबिड शंकर र गायिका बिन्दु परियारले ‘पहिलो नम्बरमा’ बोलको गीत प्रस्तुत गरेका थिए। त्यस्तै गायिका माण्डवी त्रिपाठीले संगीता शाक्य थापाको सम्मानमा ‘मै गोरीलाई’ बोलको गीत गाएकी थिइन्।

लाखे नाचबाट शुरु भएको समारोहमा नायक पल शाह र गायक दुर्गेश थापा एउटै मञ्चमा प्रस्तुत भए।

पल शाहले नारायणी खत्री र कोरस कलाकारका साथ आफ्ना चलेका गीतमा नृत्य प्रस्तुत गरे भने दुर्गेशले ग्लोबल ट्रेन्डिङमा परेको आफ्नै गीत ‘दुश्मन हेरेको हे¥यैमा’ मा कोरसका कलाकारका साथ परफमेन्स गरे।

गायक–गायिका शिरिष देवकोटा र निशा देसारले गीत–संगीत प्रस्तुत गरेका थिए भने रुबिना अधिकारी, रबिना भण्डारी, दीप गुरुङ र टिमलगायतले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले स्वागत मन्तव्य राख्दै आगामी वर्षबाट प्रतिस्पर्धाको विधा घटाई सबै विजयीलाई नगद पुरस्कारको व्यवस्था गर्ने जानकारी गराइन्।

सम्बन्धित समाचार

सबै