सशस्त्र प्रहरी जवान हिरासतमा मृत फेला, यौन दुर्व्यवहारको आरोपमा परेका थिए पक्राउ

0 Shares

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवान प्रहरी हिरासतमा मृत फेला परेका छन्। दाङको राप्ती गाउँपालिका-१, भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर सोमबार बिहान घोराहीस्थित वडा प्रहरी कार्यालयमा मृत अवस्थामा भेटिएका हुन्।

प्युठानको वडडाँडा घर भएका मगर आफ्नै गञ्जी र टिर्सटको पासोमा झुन्डिएको अवस्थामा शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए। बिहान करिब पाँच बजेतिर शौचालयमा उनको मृत शरीर भेटिएको थियो।

८ वर्षीया र १४ वर्षीया दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा जवान मगरलाई कात्तिक ७ गते पक्राउ गरिएको थियो। यो आरोपको अनुसन्धानका लागि मगर र सहायक हवल्दार भरत रोका मगरलाई जिल्ला प्रहरी कार्यालय, दाङमा बुझाइएको थियो।

असोज २४ गते साँझ ज्वालामाई गण नजिकै पिङ खेल्न गएका दुई बालिकामाथि अज्ञात व्यक्तिहरूले बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएका थिए। लामो अनुसन्धानपछि पनि प्रहरीले कुनै ठोस प्रमाण फेला पार्न नसक्दा घटनाको विरोधमा स्थानीयले भालुवाङ बजार बन्द गराउँदै ज्वालामाई गणलाई घेराउसमेत गरेका थिए। विरोधपश्चात्, सशस्त्र प्रहरीले घटनामा संलग्न आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको थियो।

सम्बन्धित समाचार

सबै