पाँचौँ हप्तामा ‘अञ्जिला’, घटेन व्यापार

0 Shares

 नेपाली चलचित्र ‘अञ्जिला’ले रिलिजको पाँचौँ हप्ताको शनिवारसम्म पनि उत्साहजनक व्यापार कायम राख्न सफल भएको छ। काठमाडौंसहित देशभरका हलहरूमा झन्डै ५० शो प्रदर्शन भइरहेका छन्, र अधिकांश शोहरूमा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

फागुन २९ यता नेपाली तथा विदेशी गरी दर्जनभन्दा बढी चलचित्रहरू प्रदर्शनमा आए पनि ‘अञ्जिला’को व्यापारमा कुनै उल्लेखनीय असर परेको छैन। बलियो कथा, सशक्त निर्देशन, र कलाकारहरूको प्रभावशाली अभिनयका कारण यो फिल्म दर्शकको रोजाइमा अडिन सफल भएको हो। ‘अञ्जिला’ नेपाली बक्स अफिसमा सबैभन्दा स्थायित्व देखाउने चलचित्रमध्ये एक बन्दै गएको छ।

गत वर्षको अन्त्यतिर प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’ले उत्कृष्ट पाँच चलचित्रको सूचीमा स्थान बनाउन सफल भएको छ। अहिले पनि चलचित्रको व्यापारमा खासै गिरावट देखिएको छैन, जसले यो चलचित्रलाई लामो समयसम्म प्रदर्शनमा टिक्ने सङ्केत दिएको छ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिकामा अभिनय गरेकी छन्।

निर्देशक मिलन चाम्सले चलचित्रकी पात्र एन्जिलाले भोगेको जीवन कतै न कतै हामी सबैको जीवनसँग मेल खाने भएकाले दर्शकसँग यसको भावनात्मक सम्बन्ध कायम रहेको बताए। “हाम्रो मेहनतलाई दर्शकले जसरी माया दिनु भएको छ, त्यसले निकै ऊर्जा मिलेको छ। एन्जिलाले भोगेको कथाले दर्शकलाई भावनात्मक सम्बन्ध जोड्न सघायो। अझै केही हप्ता प्रदर्शनलाई निरन्तरता दिने तयारीमा छौँ,” चाम्सले भने।

चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै