‘कार्साङ’ निर्देशकको नयाँ फिल्म ‘मिरमिरे’को घोषणा, को हुन् मुख्य कलाकार?

0 Shares

‘कार्साङ’ निर्देशक याम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’को घोषणा गरेका छन्।

 थिम पोस्टर सार्वजनिक गर्दै घोषित यो फिल्म यसै वर्ष रिलिज हुने घोषणा समेत गरिएको छ।

यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ। थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र देखिएका छन्। उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किएका छन्।

सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर नयाँ कामको सुरुआतको तयारी गरिरहेको संकेत पोस्टरले दिएको छ। पोस्टरले बिहानीसँगै नयाँ संकल्प गरिएको देखाए पनि ती पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने कुरा भने स्पष्ट गरिएको छैन।

फिल्मको निर्देशन याम शेर्पाले स्वयं गर्नेछन्। फिल्मको कथा पनि निर्देशक आफैंले लेख्नेछन्।

निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

नयाँ वर्ष २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन।

कलाकारबारे निर्माण पक्षले अहिलेसम्म जानकारी दिएको छैन। केही समयपछि फिल्ममा को–को कलाकार रहने भन्ने जानकारी सार्वजनिक गरिने निर्देशक शेर्पाले बताएका छन्।

“हाम्रो फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर बन्नेछ,”निर्देशक शेर्पाले भने, “को–को कलाकार रहने हुन् भन्ने कुरा हामी विस्तारै जानकारी दिँदै जानेछौं।”

शेर्पाले ‘कार्साङ’मा भएका कमी–कमजोरीबाट पाठ सिक्दै, दर्शकले खोजे र चाहेअनुसारको फिल्म बनाउने प्रतिबद्धता जनाएका छन्। उनले ‘कार्साङ’मा जस्तै ‘मिरमिरे’मा पनि दर्शकको साथ रहने अपेक्षा व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै