पशुपति घिमिरेका २ पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक

0 Shares

लेखक पशुपति घिमिरेद्वारा लिखित दुई पुस्तक—‘वाण्डरिङ वर्डस’  र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’—सार्वजनिक भएका छन्। हालै अमेरिकाको रिचमन्ड, भर्जिनियामा सिनेटर स्कायलर टी. भ्यान भाल्केनबर्ग, लेखक घिमिरे, रिचमन्डका नेपाली समुदायका अध्यक्ष चन्द्र मल्ल, उपाध्यक्ष असीम राजभण्डारी, कोषाध्यक्ष रूकेश पोख्रेल, न्याकका सदस्य घनेन्द्र लामिछाने र समाजसेवी रोशन घिमिरेले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

लेखक घिमिरेका अनुसार‘वाण्डरिङ वर्डस’ १८ यात्रा निबन्धहरूको संग्रह हो, जसले पाठकलाई एसिया, युरोप र उत्तर अमेरिकाका दश विविध देशहरूको यात्रामा लैजान्छ। ‘तीन महादेशका केही तरंगहरू’ उपशीर्षकले पाठकलाई लगभग आधा संसारको भूगोलको यात्रा गराउँछ। यो केवल भौगोलिक अन्वेषण मात्र नभई इतिहास, परम्परा, भाषा, धर्म, संस्कृति, सभ्यता, कला र साहित्यको समृद्ध तानाबाना पनि बुन्छ।

पुस्तकमा देवकोटा र घिमिरेदेखि सोफोक्लिस, सुकरात र शेक्सपियरसम्मका प्रसंगहरू समेटिएका छन्। “पाठकहरूले मोना लिसाको रहस्यमय मुस्कान भेट्न सक्छन्, ट्याक्सी चालकका पीडा महसुस गर्न सक्छन्,” घिमिरे भन्छन्।

‘वाण्डरिङ वर्डस’  एमाजोनमार्फत विश्वभर उपलब्ध छ।

नेपालमा करिब एक दशक लेखन गरेका पत्रकार घिमिरेले सन् २०१३ मा पहिलो पुस्तक ‘बुद्धवादका तीन आयाम’ प्रकाशित गरेका थिए। त्यसको अंग्रेजी अनुवाद ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ अहिले सार्वजनिक भएको हो।

घिमिरेका अनुसार यस पुस्तकले बौद्ध धर्म, दर्शन, इतिहास र साहित्यको विस्तृत अन्वेषण गर्छ। यसमा बौद्ध धर्मको दार्शनिक आधार, ऐतिहासिक पृष्ठभूमि र एसियाभरि यसको प्रसार समेटिएको छ।

पुस्तकले बौद्ध धर्मको उत्पत्ति, आधारभूत सिद्धान्त, बुद्धपूर्वका दार्शनिक, चार आर्य सत्य, अष्टाङ्गिक मार्ग, प्रतीत्य समुत्पाद, समथा–विपश्यना, चार ब्रह्मविहार, दश अनुस्मृति, र आरूप्य अवधारणा जस्ता विषयहरूको स्पष्ट व्याख्या गर्छ।

त्यसैगरी, वैभाषिक, सौत्रान्तिक, माध्यमिक (शून्यवाद) र योगाचार (विज्ञानवाद) जस्ता प्रमुख बौद्ध दार्शनिक विद्यालयहरूको विश्लेषण गरिएको छ। पुस्तकले महायान बौद्ध धर्मको बोधिसत्व आदर्श र वज्रयान शिक्षाहरूको पनि गहिरो व्याख्या गर्छ। यसमा पाली त्रिपिटक र महायान सूत्रहरूको समावेशसहित बौद्ध साहित्यको सिंहावलोकन गरिएको छ।

बौद्ध इतिहास सम्बन्धी खण्डले चार प्राथमिक बौद्ध सम्मेलनहरूदेखि लिएर एसियाका विभिन्न मुलुकहरूमा धर्मको प्रसारको ऐतिहासिक तथ्यहरूलाई प्रस्तुत गरेको छ। नालन्दा, वल्लभी, विक्रमशिला, जगदला र ओदन्तपुरीजस्ता प्राचीन बौद्ध विश्वविद्यालयहरूको पनि वर्णन गरिएको छ।

सिनेटर भाल्केनबर्गले यस्ता गहन र विचारोत्तेजक विषयमा पुस्तक प्रकाशित गरेकोमा लेखक घिमिरेलाई धन्यवाद दिए। उनले कार्यक्रममा रिचमन्ड, भर्जिनियाको नेपाली समुदायलाई सक्रियता र योगदानको कदरस्वरूप राज्य सरकारको तर्फबाट कदर पत्र प्रदान गरेका थिए।

सम्बन्धित समाचार

सबै