चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव : ‘बोक्सीको घर’ देखि ‘अन्जिला’ सम्म

0 Shares

“आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र” भन्ने मूल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यही बैशाख ४ गतेदेखि ६ गतेसम्म हुने ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा अफिसियल सेलेक्ट भएका चलचित्रलाई प्रमाणपत्र प्रदान गरिएको छ।

नेपाल पर्यटन बोर्ड, काठमाडौँमा बुधवार आयोजित प्री-इभेन्ट कार्यक्रममार्फत प्रमाणपत्र वितरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी रहेका थिए।

प्री-इभेन्टमा ग्रामीण चलचित्र महोत्सवको स्मारिका विमोचन पनि गरिएको थियो। कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, वरिष्ठ पत्रकार शान्तिप्रिय, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष कुवेर गिरीलगायत थुप्रै चलचित्रकर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो।

सेलीब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार यस महोत्सवमा गाउँको कथावस्तुमा आधारित चलचित्रहरू समेटिएका छन्। नेपाल ग्रामीण चलचित्र महोत्सव विगत ४ वर्षदेखि सिनेमा घर नभएका जिल्लाहरूमा गाउँले परिवेशमा निर्माण गरिएका सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्महरूलाई समेट्दै अत्याधुनिक प्रविधिबाट स्क्रिनिङ गर्दै आएको छ। साथै, उत्कृष्ट फिल्मलाई अवार्ड पनि प्रदान गरिँदै आएको उनले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि डिसीले भने, “नेपाल ग्रामीण चलचित्र महोत्सवको नाम नै विशेष छ। नेपाली सिनेमा हेर्न रुचि राख्ने दर्शकसम्म सिनेमा लैजानु आफैँमा एक अर्थपूर्ण काम हो, र यही कारणले यो महोत्सवको विशेष महत्व रहेको छ।”

पहिलो वर्ष गोरखाको लाप्राकमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो, जहाँ हजारौं दर्शकको उपस्थिति रहेको थियो। दोस्रो संस्करण काभ्रे जिल्लाको भकुण्डेबेसीमा, तेस्रो संस्करण रामेछाप नगरपालिकामा सम्पन्न भएको थियो। यस पटक गोसाईकुण्ड गाउँपालिका, धुन्चे (रसुवा) मा महोत्सव गरिने सापकोटाले जानकारी दिए।

महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन्। चलचित्र निर्देशक ऋषि लामिछानेको संयोजकत्वमा रहेको जुरी कमिटीमा रक्षा सिंह राणा र शैलेश श्रेष्ठ सदस्य रहेका छन्।

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवसँगै गोसाईकुण्ड गाउँपालिका, धुन्चेमा गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता पनि सञ्चालन हुँदैछ। यस पटकको समापनमा सांगीतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा छनोट भएका चलचित्रहरू:
फिचर फिल्म
बोक्सीको घर – सुलक्षण भारती

पुजार सार्की – दिनेश राउत

ज्वाईं साब – बसन्त निरौला

अन्जिला – मिलन चाम्स

द्रौपदी – ऋषिराज आचार्य

फिरफिरे फिरीरी – नविन भट्ट

शर्ट फिल्म
विजेता – दिनेश लामा

एक जोर जुत्ता – मोहन अभिलाषी

घटेरो – पुरुषोत्तम बस्नेत

म कमरेड – निर्मल पौडेल

शल्यक्रिया – विवेक नगरी

मनको घर – राज गुरुङ

आमा – परिच्छेद सेन

देविया – शंकर धिताल

प्याकुली – नितिन चन्द

जुनेली – देवेन्द्र पाण्डे

डकुमेन्ट्री फिल्म
माता – अरुण कुमार प्रधान

माझी – शबिर श्रेष्ठ

गर्ल्स रि-राइटिङ डेस्टिनी – लव प्याकुरेल

गल्कोट – आकाश थापा मगर

भाषिक फिल्म
लोजिमा – सागर सुब्बा

आप्लेंग्ला लाम्सा – अजय स्याङ्तान

तस्वीर: टंक केसी

सम्बन्धित समाचार

सबै