टिका पहारी, रेजिना उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार’

0 Shares

नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘हरितारा चलचित्र पुरस्कार’ यस वर्ष अभिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई प्रदान गरिने भएको छ।

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले वि.सं. २०८० सालको पुरस्कार वरिष्ठ अभिनेता टिका पहारीलाई र २०८१ सालको पुरस्कार अभिनेत्री रेजिना उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको हो।

वि.सं. २०५२ मा समाजसेवी विजया राणा (तारानानी) ले आफ्ना पति हरि शम्शेरको सम्झनामा स्थापना गरेको यो पुरस्कार नेपाली चलचित्र क्षेत्रकै पहिलो औपचारिक पुरस्कारको रूपमा चिनिन्छ।

४ दशकदेखि नेपाली चलचित्रको उत्थान र नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा सक्रिय टिका पहारी र २ दशकभन्दा बढी समयदेखि अभिनयमार्फत चलचित्र क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी रेजिना उप्रेतीलाई, प्रत्येक जनालाई २५,००० रुपैयाँ राशिसहित लिखत प्रदान गरिनेछ।

यसअघि यो पुरस्कार बसुन्धरा भुषाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रविन्द्र खड्का, मिनाक्षी आनन्द, विश्व बस्नेत, लय संग्रौला, रेखा थापा, दिनेश डि.सी., शान्तिप्रिय, विदुर गिरी, करिष्मा मानन्धर, दीपक राज गिरी र दीपा श्री निरौला जस्ता चर्चित कलाकारहरूले प्राप्त गरिसकेका छन्।

त्यस्तै, बैठकले यसै वर्षदेखि रु. १०,००० राशिको ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ पनि स्थापना गर्ने निर्णय गरेको छ। यसको पहिलो पुरस्कार सञ्चारकर्मी विष्णु सुवेदीलाई प्रदान गरिनेछ।

यसैबीच, परिवर्तन नेपालको वैशाख ५ गते सम्पन्न बैठकले कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक/सञ्चारकर्मी सम्झना उप्रेती रौनियारलाई ‘श्रीमती दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशी जनही १०,००० रुपैयाँ रहेको छ।

साथै, चलचित्र निर्माण, निर्देशन र अभिनयमा योगदान पुर्‍याउँदै आएका कलाकारहरू रविन्द्र सिंह बानिया, अमर ओली, जे.बी. रुवाली, सविन श्रेष्ठ, गोपाल ढकाल (छन्दे) र सुनिल कटुवाललाई ‘परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१’ प्रदान गरिनेछ।

त्यस्तै, ‘परिवर्तन चलचित्र पत्रकारिता सम्मान २०८१’ सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, कृष्ण भुषाल र कमला जोशीलाई प्रदान गरिनेछ। पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको हो।

विशेष समारोहमार्फत जेठको पहिलो हप्तामा यी सबै पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। उक्त कार्यक्रमको संयोजन निर्देशक देवेन्द्र पाण्डे र सञ्चालन परिवर्तन नेपालका मानार्थ निर्देशक माधव राज खरेलले गर्ने निर्णय गरिएको छ।

सम्बन्धित समाचार

सबै