‘भूठान’ प्रिमियर, कस्तो पायो त प्रतिक्रिया ?

0 Shares

हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ। मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल मलमा रहेको क्यूएफएक्स हलमा प्रिमियर गरिएको हो।

प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक तथा विभिन्न क्षेत्रका अग्रजहरूको उपस्थिति थियो। फिल्म हेरिसकेपछि दर्शकहरूले ‘भूठान’ले नेपाली फिल्मलाई एक स्टेप माथि उकास्ने काम गरेको प्रतिक्रिया दिएका छन्।

प्रदीप ज्ञवाली (एमाले उपमहासचिव):
“आफ्नो माटो गुमाउनु, पहिचान गुमाउनु, र देश गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रमार्फत निर्देशकले यति सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ कि हरेक पलमा दर्शकले आफूलाई त्यो पात्रसँग जोड्न सक्छ। हरिवंश आचार्य लगायत सबै कलाकारको अभिनय उत्कृष्ट छ। फिल्म एक उत्कृष्ट सिर्जना हो।”

मीनबहादुर भाम (निर्देशक):
“मलाई यो फिल्म निकै रमाइलो लाग्यो। कथावस्तु मर्मस्पर्शी छ र प्राविधिक पक्ष पनि निकै सबल छ।”

विश्वप्रकाश शर्मा (नेपाली काँग्रेस महामन्त्री):
“यो फिल्मले धेरैको कथा बोलेको छ। भुटानी शरणार्थीहरूको पीडा, देश गुमाउनुको वेदना, र पछिल्ला घटनालाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ। यसले मानवता र पहिचानको गहिरो सन्देश दिन्छ।”

आनी छोइङ डोल्मा (गायिका):
“फिल्म अत्यन्तै राम्रो बनेको छ। कथा र प्रस्तुति प्राविधिक हिसाबले उत्कृष्ट छ। हरिवंश आचार्यलाई यसपालि फरक भूमिकामा देख्दा अत्यन्तै आश्चर्य लाग्यो।”

मनिषा कोइराला (अभिनेत्री):
“कथावस्तु र प्रवाह निकै राम्रो छ। सिनेमाटोग्राफी, स्टोरीलाइन, र संवाद सबैले एक किसिमको ‘पेनफुल पोएट्री’ दिन्छ।”

रोहित कुमार पौडेल (क्रिकेट कप्तान):
“फिल्म एकदमै राम्रो लाग्यो। फरक खालको थियो र गहिरो सन्देश बोकेको थियो।”

सोमपाल कामी (क्रिकेटर):
“हामी हरिसरको अभिनय हेर्न गएका थियौं। फिल्म भावनात्मक थियो र मलाई एकदमै मनपर्‍यो।”

निश्चल बस्नेत (निर्देशक):
“फिल्म हेर्दा पछिल्लो समयमा यति गहिरो कथावस्तु हेर्न पाइयो भन्ने लाग्यो। निर्देशकले निकै ध्यानपूर्वक सबै कुरा प्रस्तुत गर्नुभएको छ।”

स्वस्तिमा खड्का (अभिनेत्री):
“विनोद दाईको निर्देशन शैली मलाई सँधै मन पर्छ। फिल्म सुरु देखिनै अन्त्यसम्म मन आकर्षित गरिरह्यो। क्लाइमेक्स विशेष रूपमा प्रभावशाली थियो।”

मदनकृष्ण श्रेष्ठ (वरिष्ठ कलाकार):
“फिल्म हेर्दा गहिरो सन्देश दिन खोजिएको छ। हरिवंश आचार्य फरक अवतारमा देखिनु गज्जब लाग्यो। यसले देशप्रेम र पहिचानको महत्त्व गहिरो रूपमा उठाएको छ।”


फिल्म ‘भूठान’ को सम्पूर्ण छायांकन अमेरिका भित्र गरिएको हो। अंग्रेजी शीर्षक ‘The World’s Happiest Man’ रहेको यस फिल्ममा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द-लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, र विमल सुवेदीले अभिनय गरेका छन्। हलिउड अभिनेता ब्रुस डर्नले विशेष भूमिका निर्वाह गरेका छन्।

यो फिल्म भुटानी नागरिकहरूको देश गुमाउनुको पीडा र थातथलोको मोहबारे भावुक कथा बोकेको छ। फिल्म यही वैशाख १२ गतेदेखि प्रदर्शनमा आउँदैछ।

सम्बन्धित समाचार

सबै