पृथ्वी नै डेरा हो,
सबैले भाडा तिर्नु छ
मान्छे आफैं पाहुना,
भोलि घर फर्किनु छ
तेरो–मेरो के कुरा,
के घर, के डेरा… ।
यी हरफ चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजरका हुन्। यी हरफले जीवनको कटु सत्यलाई उजागर गर्छन्। हरेक व्यक्तिको जीवन सत्यसँग नजिक हुने तथ्यलाई यी हरफले आम नागरिकलाई झकझक्याउने प्रयास गरेका छन्।
पृथ्वी नै डेरा भएको तथ्यलाई सिनेमाले उजागर गरेको यी हरफले बुझाउँछन्। त्यसैले तेरो मेरो भनेर भन्नु नै वास्तवमा बेकार भएको सिनेमाले बताउने संकेत यसको पब्लिसिटी कन्टेनले बताइरहेका छन्।
जति नै तेरो मेरो गरे पनि अन्तिममा पुग्ने घाट नै हो र हुने धुँवा नै हुने हो भन्ने सत्यलाई मानिसले स्वीकार गर्नुपर्ने टिजरले यसअघि बताइसकेको छ।
अन्ततः मान्छे खाली हात घाट जाने सत्यलाई स्वीकार गर्न नसक्दा अनेक समस्या भइरहेको माथिका हरफले स्पष्ट भनेको छ। डेरालाई प्रतिबिम्ब बनाएर सिनेमाले जीवनको सत्यलाई देखाउने संकेत गरेको छ।
त्यसैले ‘के घर के डेरा : घर नं २’ ले आम जनजीवनको सत्यसँग नजिक रही कथा भन्ने स्पष्ट भइसकेको छ। जति नै अमिर भए पनि नांगै जानु पर्ने सत्य, जीवनको उत्तरार्धमा एक्लै हुनुपर्ने यथार्थलाई चिताको धुँवा नजिकै बसेर धुँवा हराउँदै गरेको दृश्य र संवादले जीवनको अन्त्यतिर वा दुःखमा मात्रै महसुस गर्ने गरेको सत्यलाई ‘के घर के डेरा : घर नं २’ ले भन्ने अनुमान लगाउन सकिन्छ।
त्यसैले निर्देशक दीपेन्द्र के. खनालले आम दर्शकले सिनेमाले कनेक्ट गर्ने र जीवनको सत्यलाई महसुस गर्ने बताउँछन्। हरेक व्यक्ति, घर र समाजले कुनै न कुनै समय भोग्ने कथा ‘के घर के डेरा : घर नं २’ ले अनुभूत गराउने उनको दाबी छ।
सिनेमो सधैँ जीवनको नजिक हुनुपर्ने भन्ने मान्यता आफ्नो रहेको भन्दै उनले त्यही अनुसार ‘के घर के डेरा : घर नं २’ बनेको निर्देशक खनालले बताए। त्यसैले यो चलचित्र जीवनको सत्यसँग नजिक रहेको भन्न रुचाउँछन् उनी।
‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदैछ। सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो स्क्रिप्ट हो।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारहरूको अभिनय छ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसन को प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो सिनेमा हो।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ। ‘के घर के डेरा : घर नं २’ को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।