
नेपाली बक्सअफिसमा एक पुनःप्रदर्शनसहित तीन नयाँ फिल्म शुक्रबारबाट प्रदर्शनमा आएका छन्।
हाल देशभरका हलमा १२ वटा फिल्म प्रदर्शनमा छन्, तर दर्शकको उपस्थिति र व्यापारको हिसाबले सन्तोषजनक नतिजा देखिएको छैन।
शुक्रबार दुई नेपाली फिल्म — ‘खेल’ र ‘भूठान’ — रिलिज भएका छन्। यिनीसँगै भारतीय फिल्म ‘ओए भुतनी के’ र पुनःप्रदर्शन गरिएको ‘अन्दाज अपना अपना’ पनि हलमा लागेका छन्।
यी फिल्मबाहेक ‘पिताम्बर’, ‘अञ्जिला’, ‘लाज शरणम्’, ‘वसन्त’, ‘होस्टल ३’, ‘जाट’, ‘केशरी २’ र ‘अ मिनिक्राफ्ट’ जस्ता अन्य फिल्महरू पनि प्रदर्शनरत छन्।
तर, हलमा दर्जनौं फिल्म चले पनि पछिल्ला अधिकांश फिल्महरूले अपेक्षाअनुसार व्यापार गर्न सकेका छैनन्।
वर्षको अन्तिम शुक्रबार सार्वजनिक भएको ‘कर्मा’ अहिले हलबाट हटिसकेको छ। सोही दिन रिलिज भएको ‘पिताम्बर’ देशभर ६९ शोमा प्रदर्शन भइरहेको छ। यद्यपि, अपेक्षित व्यापार नभए पनि निर्माण टिमले समग्र आम्दानीबाट लगानी सुरक्षित भएको दाबी गरेको छ।
यसैगरी, ‘लाज शरणम्’ ले पनि ठोस व्यापारिक उपस्थिति देखाउन सकेको छैन। नेपाल र विदेशमा प्रदर्शन तथा डिजिटल अधिकार बिक्रीबाट लगानी उठाएको चर्चा भए पनि, ५१ दिनसम्म दर्जन पर्दामा चलेको फिल्मको प्रमोशनमा निर्माताको न्यून सक्रियता देखिँदा लगानी फिर्ता भएको दाबीप्रति शंका पैदा भएको छ।
दोस्रो पक्षमा, ‘अञ्जिला’ र ‘होस्टल ३’ ले भने बक्सअफिसमा सकारात्मक उपस्थिति देखाएका छन्। सुरुवातमा ‘अञ्जिला’लाई व्यापारिक फिल्मका रूपमा नहेरे पनि वायोपिक शैलीको यस फिल्मले अपेक्षाभन्दा राम्रो कमाइ गरेको वितरकहरूले बताएका छन्।
नेपाली फिल्मसँगै विदेशी फिल्महरूको प्रभाव पनि कमजोर देखिएको छ। वितरकहरूमा, लगातार फिल्म नचलेपछि हल सञ्चालकहरू आम्दानी नपुग्ने डरले फिल्मको रकम रोक्ने अवस्था सिर्जना हुनसक्ने चिन्ता बढेको छ। भारतमा ६ सय करोड रुपैयाँको व्यापार गरेको भनिएको ‘छावा’ ले समेत नेपालमा खास प्रभाव पार्न सकेन। यस्तै अवस्था हलिउड फिल्महरूको पनि रहेको छ।
‘पूर्ण बहादुरको सारंगी’ ले ल्याएको व्यापारिक हल्लापछि नेपाली बक्सअफिसमा पुनः त्यस्तो लहर आउन सकेको छैन। निर्मातादेखि प्रदर्शक र वितरकसम्म चिन्तित देखिएका छन्।
शुक्रबारबाट प्रदर्शनमा आएका नयाँ फिल्महरूले पनि अग्रिम बुकिङमा खासै रुचि देखाउन सकेका छैनन्। अब अपरान्हपछि मात्रै यी फिल्महरूको रुझान कता मोडिन्छ भन्ने संकेत मिल्नेछ।