
गत वर्षको दशैंमा केही वर्षदेखि कायम रहेको ‘छक्का पञ्जा’ सिरिजको बम्पर कमाइको सिलसिला अभिनेता विराज भट्टको बाबुछोरा अभिनीत फिल्म ‘१२ गाउँ’ले तोड्दै सबैलाई आश्चर्यमा पारेको थियो।
रिलिजअघि धेरैलाई लाग्थ्यो कि ‘१२ गाउँ’ केवल आउने–जाने फिल्म बन्नेछ र ‘छक्का पञ्जा ५’ले सहजै बजार जित्नेछ। तर नतिजा उल्टो भयो—‘१२ गाउँ’ले कडा प्रतिस्पर्धा दियो। रिलिजपछिको अवस्थामा ‘छक्का पञ्जा ५’को कमाइ घट्दो क्रममा रहँदा ‘१२ गाउँ’को कमाइ बढ्दो क्रममा गयो। परिणामतः नेपाली बक्सअफिसमा यी फिल्मले क्रमशः १५ करोड २० लाख र १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाइ गरे। अर्थात्, ‘१२ गाउँ’ले ‘छक्का पञ्जा ५’लाई भारी पारेको थियो।
रिलिजको हिसाबले दशैं नेपाली फिल्म निर्माताहरूका लागि कमाइको सिजन मानिन्छ। गत वर्षको वक्सअफिस कलेक्सनअनुसार यी दुई फिल्मले दशैंमा ३५ करोडभन्दा बढी व्यापार गरेका थिए। यस अवसरमा हुने सम्भावित भव्य व्यापारलाई ध्यानमा राख्दै यस वर्ष केही फिल्मले दशैंमा रिलिज हुने घोषणा गरिसकेका छन्।
त्यसमध्ये समिर भट्ट अभिनीत फिल्मसँग जुध्नु चुनौतीपूर्ण हुने संकेत देखिन थालेको छ। फूलपातीमा रिलिज हुने घोषणा गरिएको फिल्म ‘बलिदान’को प्रि-टिजर दुई दिनअघि सार्वजनिक गरिएको थियो।
समिरको जन्मदिनमा सार्वजनिक गरिएको टिजर केही घण्टामै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्यो। समाचार तयार पार्दासम्म टिजरले साढे ७ लाखभन्दा बढी भ्यूज पाइसकेको छ र अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
त्यस्तै, नेपालसँगै नेपालीहरूको बाक्लो बसोबास रहेका युएई, कुवेत, कतार, अस्ट्रेलिया, मलेसिया, जापान र दक्षिण कोरियामा पनि प्रि-टिजर ट्रेन्डिङमा रहेको छ।
यी सबै तथ्यांकले दर्शकमाझ समिरको फिल्मप्रति उच्च प्रतिक्षा रहेको संकेत दिन्छन्। यसले कम्तिमा फिल्मले बम्पर ओपनिङ गर्ने निश्चित आकलन गर्न सकिन्छ। विगतका फिल्महरूको प्रदर्शनसमेत हेर्दा ‘बलिदान’ले बक्सअफिसमा कडा उपस्थिति जनाउने निश्चित छ। यस्तोमा सँगसँगै रिलिज हुने फिल्महरूले त्यसअनुसारको तयारी गर्नुपर्ने देखिन्छ।
“दशैं हो, व्यापार भइहाल्छ” भन्ने सोचमा बस्नु घातक हुने देखिएको छ।
फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्ममा दिलोज्यान दिएर समय र धन लगानी गरिरहेका छन्। बिग बजेटको फिल्म भएकाले यसले आफूलाई ठूलो क्यानभासमा प्रस्तुत गर्नेछ। यसैले अन्य फिल्महरूले पनि त्यही स्तरको प्रतिस्पर्धामा उत्रिनुपर्नेछ। सेनले गर्नेझैं आक्रमक मार्केटिङ गर्नुपर्नेछ अन्यथा बजारको भिडमा यसै हराउने खतरा छ ।
‘१२ गाउँ’बाट समिरले आफ्नो एक्सन शैली र शारीरिक बनावटका कारण दर्शकमाझ लोभलाग्दो क्रेज बनाइसकेका छन्। पहिलो फिल्मबाटै उनी लगानीयोग्य कलाकारको सूचीमा चढिसकेका छन्।
यी सबै कारणले गर्दा यो दशैं समिरसँग भिड्न आउने फिल्महरूका लागि पनि चुनौतीको विषय बनेको छ। त्यसैले समयमै ‘कडा सिटामोल’ लिएर प्रतिस्पर्धाको तयारी गर्नु जरुरी देखिन्छ। बाँकी नतिजा दशैंले नै दिनेछ। यस वर्ष दशैंमा कम्तीमा तीनदेखि चारवटा फिल्म रिलिज हुने अनुमान गरिएको छ।