साहित्यकार इन्द्रबहादुर राईको चर्चित कथा ‘जार’ मा आधारित भएर निर्माण गरिएको नेपाली फिल्म ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा देखिनेछन्।
सौगात मल्लका अनुसार ‘जार’ त्यो कथा हो जुन उनलाई दुई दशकअघि नै अभिनय गर्न मन लागेको थियो। उनले जब इन्द्रबहादुर राईको कथा पढे, त्यहीबेला नै यसमा अभिनय गर्ने चाहना पलाएको थियो। अहिले, दुई दशकपछि त्यो सपना पूरा भएको सौगातले बताएका छन्।
सौगात भन्छन्, “२७ वर्षअघि गुरुकुलमा ‘जार’ नाटक हेरेको थिएँ। नाटकमा अभिनय गर्न पाइनँ, तर नाटक पढ्ने मौका पाएँ। केही कथा–उपन्यास यस्ता हुन्छन्, जसले मान्छेलाई धेरै दिनसम्म प्रभावमा राख्छ। ‘जार’ त्यस्तै थियो। त्यो बेला नै मलाई लाग्थ्यो, म यसमा केही बनाउँछु।”
फिल्मको प्रस्ताव आउँदा आफू छक्क परेको उनी बताउँछन्। “म जुनसुकै रोलका लागि पनि तयार थिएँ, तर मुख्य भूमिका पाउँदा झन खुसी लाग्यो,” उनले भने। सौगातका अनुसार, उनले फिल्ममा निभाएको पात्रबारे किताब पढ्दा नै रौँ उठ्ने अनुभव भएको थियो। गुरुकुलमा इन्द्रबहादुर राईले ‘जार’ नाटकबारे इच्छा व्यक्त गर्दा उनले त्यो भूमिकामा कहिले काम गर्छु भन्ने बाचा गरेका थिए।
“जब कथा पढें, त्यसपछि तीन महिनासम्म त्यो पात्रमै डुबें। कथाले मलाई यसरी तान्यो कि त्यो चरित्र जिउँदै मेरो जीवनमा आएजस्तो लाग्यो,” सौगातले स्मरण गरे।
सौगात भन्छन्, “मलाई लाग्छ— म जुन दिनदेखि त्यो पात्र पढें, त्यो दिनदेखि नै मैले अभिनय गरिसकेको थिएँ। जब तपाईंलाई कुनै कथा मन पर्छ र त्यसमा काम गर्ने रहर हुन्छ, त्यो पात्र भित्र घुस्न मन लाग्छ— त्यतिबेला लाग्छ तपाईंले त्यो पहिल्यै खेलेको हो।”
इन्द्रबहादुर राईको अर्को कथामा पनि काम गर्ने इच्छा रहेको उनले जनाए। “कुन भनेर अहिले भन्दिनँ, किनभने नपुगेसम्म भनिँदैन। जब पुग्छ, तब भन्नेछु,” उनले भने।
फिल्म ‘जार’ २२५ वर्षअगाडिको कथामा आधारित छ। फिल्ममा सौगातले अनुपविक्रमको पत्नी गीताञ्जलीलाई भगाउने पात्रको भूमिका निभाएका छन्। त्यो भूमिका निकै चुनौतीपूर्ण रहेको उनी बताउँछन्। “१८ सयको दशकको समाज, भाषा, नियमकानून, वातावरण अनुसार अभिनय गर्नु जोखिमपूर्ण थियो। त्यो समयमा अर्काको श्रीमती भगाउने पात्र निभाउनु सजिलो थिएन,” सौगातले प्रस्ट पारे।
निर्देशक फुर्वा छिरिङ लामाका अनुसार, ‘जार’ सामाजिक विषयमा आधारित भए पनि यो एक कम्प्लिट प्याकेज फिल्म हो। उनले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्।
फिल्म ‘जार’ मा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा छन्। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको हो।
कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। फिल्मको छायांकन सरवानन इलावार्सुले, सम्पादन अखिलेश राईले, संगीत झुमा लिम्बू र गंगा थापाले गरेका छन्।
फिल्म ‘जार’ नेपाल, भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकैसाथ प्रदर्शनमा आउनेछ। नेपालमा यस फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ।