
फिल्म ‘के घर के डेरा : घर नं २’ सहरको मौलिक कथा भएको यसका कलाकार तथा निर्देशकले बताएका छन्।
निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले फिल्म सहरकै मौलिक कथामा आधारित रहेको बताएका हुन्।
“गाउँका कथामात्रै मौलिक हुन् भन्ने बुझाइ गलत हो,” अभिनेता खगेन्द्र लामिछानेको तर्क छ। उनले सहरका कथासमेत मौलिक हुनेमा जोड दिएका छन्।
“नेपालीका सबै कथा मौलिक हुन्छन्, चाहे त्यो गाउँको होस् वा सहरको,” शुक्रबार पत्रकारहरूसँगको अन्तरक्रियामा उनले भने, “गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष रूपमा गाउँसँग जोडिएका कथामात्रै मौलिक हुन् भन्ने भाष्य गलत हो। यो तोडिनुपर्छ।”
सहरमा धनी मानिसहरू मात्रै बस्छन् भन्ने बुझाइ गलत रहेको उनले बताए। “सहरमा गाउँभन्दा चरम गरिबी पनि छ। सहरी गरिबी झनै डरलाग्दो हुन्छ,” उनी भन्छन्, “काठमाडौंमै बिजुलीको बिल तिर्न नसक्ने घरधनीहरू छन्। त्यसैले सहरका कथाहरू पनि हाम्रै हुन्।”
निर्देशक दीपेन्द्र के. खनालका अनुसार, सीमित क्षेत्रफलभित्र बनेको भौतिक संरचनालाई मात्र ‘घर’ भन्न मिल्दैन। घर बन्नका लागि भावना र सम्बन्ध चाहिन्छ।
“गाउँमा बाँच्न सहज हुन्छ। सबैले सबैलाई चिन्छन्, सहयोग गर्छन्। तर, सहरमा कोही कसैलाई चिन्दैन। घर टाँसिए पनि मन टाँसिएको हुँदैन,” उनले भने, “त्यसैले मेरा अधिकांश फिल्म सहरकै कथामा आधारित हुन्छन्। मलाई सहरका कथा भन्न मन पर्छ। यी सबै कथा मौलिक हुन्, मौलिक फिल्म हुन्।”
‘के घर के डेरा : घर नं २’ आफ्नै छुट्टै कथा र आर्क (arc) मा बनेको निर्देशक खनालले स्पष्ट पारे। पशुपतिमा केही दृश्य देखिए पनि फिल्मको धेरैजसो कथा पशुपतिमा आधारित नरहेको उनले बताए।
अभिनेत्री केकी अधिकारीका अनुसार, अर्ग्यानिक कथा भन्नासाथ गाउँको कथा र सेटअप मात्रै भन्ने बुझाइ गलत हो।
“अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो। नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,” उनले भनिन्, “अब गाउँ मात्र होइन, सहर र विदेशमा बस्ने नेपालीका कथाहरू पनि भनिनुपर्छ। ती पनि हाम्रै कथा हुन्।”
उनका अनुसार, ‘के घर के डेरा : घर नं २’ को आत्मा लेखक र निर्देशक नै हुन्। साहित्यको नजिक रहेका कथाहरू लेख्ने बुद्धिसागर र सबैले मन पराउने शैलीमा कथा भन्न सक्ने निर्देशक नै फिल्मको मुख्य पक्ष र आकर्षण भएको उनले बताइन्।
एउटै छतमुनि आइपुगेका हरेक पात्रको कथा कसरी एउटै मूल कथासँग जोडिन्छ भन्ने कुरा फिल्मको मुख्य विशेषता भएको उनले स्पष्ट पारिन्।
‘के घर के डेरा : घर नं २’ जेठ २ गते (May 16) प्रदर्शनमा आउँदैछ। फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्। यो उनको पहिलो स्क्रिप्ट हो।
फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।
कृष्णबहादुर थापाले फिल्मको छायांकन गरेका छन्। कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माताहरूमा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।