‘के घर के डेरा : घर नं २’ को अग्रिम बुकिङ खुल्यो, कता कति पायो शो ?

0 Shares

जेठ २ गते रिलिज हुने फिल्म ‘के घर के डेरा : घर नं २’ को अग्रिम बुकिङ मंगलबार साँझदेखि खुला भएको छ।

फिल्मले देशभर उच्च शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २५ शो दिएको छ भने उपत्यका बाहिर २२ शो पाएको छ। क्यूएफएक्सका विभिन्न आउटलेटहरूमा यो फिल्मलाई ४७ शो दिइएको छ।

आइएनआईले आफ्ना चारवटा आउटलेटहरूमा १५ शो दिएको छ। वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार शो प्रदान गरेको छ। एफक्यूबले पनि चार शो उपलब्ध गराएको छ।

त्यसैगरी अन्य मल्टिप्लेक्सहरूले पनि ‘के घर के डेरा : घर नं २’ लाई उल्लेखनीय संख्यामा शो प्रदान गरेका छन्। फिल्मका वितरक करण श्रेष्ठका अनुसार केही हलहरूले अझै शो निर्धारण गर्न बाँकी रहेको र आज तथा भोलिसम्ममा देशभरका हलहरूको निश्चित तथ्यांक प्राप्त हुने जानकारी दिएका छन्।

दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा आउँदैछ। राम्रै हाइप बनाएको यस सिनेमाले आक्रामक व्यापार गर्ने निर्माणपक्षको विश्वास छ।

फिल्ममा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय रहेको छ।

यस फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्, जसले पहिलो पटक स्क्रिप्ट लेखेका हुन्।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। सिनेमाटोग्राफी कृष्णबहादुर थापाले गरेका छन्। कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।

‘के घर के डेरा : घर नं २’ ले घर र डेराको कथा बोकेको फिल्म हो। घर नहुनेहरूले देख्ने सपना र घर भएका मानिसहरूको पीडा यस सिनेमाको मूल विषय हो। ट्रेलरले पनि यही कथावस्तु प्रस्तुत गरिसकेको छ।

काठमाडौंको खाल्डोमा पसिसकेपछि कुनै मध्यमवर्गीय परिवारको व्यक्ति यस्तो छैन होला जसले यहाँ आफ्नै घर बनाउने सपना देखेको नहोस। घर र डेराबीचको अन्तरले बारम्बार जिन्दगीलाई हिर्काएको पीडाबाट छुटकारा पाउने चाहनाले प्रत्येक व्यक्ति काठमाडौंमा आफ्नै घर बनाउने सपना देख्छ। र त्यो सपना पूरा गर्न जागिर, व्यापार, धन्दा सबै गर्छ। पैसाकै पछाडि दौड्दा अनेक किसिमका मानिसहरूसँग — प्रलोभन दिने, धम्की दिने, ठग्नेहरूसँग — उसको भेट हुन्छ। सुरुमा प्रलोभन, पछि धम्की र अन्ततः प्रतिबन्ध। यसै चक्रमा जिन्दगी अल्झिँदा कसरी बन्छ नयाँ घर? बनाएको घर टिक्छ कि टुट्छ? यही प्रश्नहरूको वरिपरि फिल्मको कथा घुमेको देखिन्छ।

सम्बन्धित समाचार

सबै