‘जन्ते बाख्रो’को ‘मुकु मुकु म्या रिलिज , सौगातका अगाडि फिक्का भयो ४ नायिकाको नाच

0 Shares

आगामी जेठ २३ गते प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’को तेस्रो गीत सार्वजनिक गरिएको छ।

डिजिटल पार्टनर जी टू वान डिजिटलमार्फत आज सार्वजनिक गरिएको तेस्रो गीत ‘मुकु मुकु म्या’ यस फिल्मको शीर्ष गीत हो। नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा फिल्मका मुख्य पात्रहरू सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, गरिमा शर्मा, रुसा न्यौपाने, समापिका गौतम, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर छन्।

गीतमा सौगात मल्लको नाच अब्बल देखिएको छ  भने सौगातको पावरप्याक नाचका अगाडि फिल्मका चार अभिनेत्रीहरु गरिमा, कुसुम, रुसा र समापिकाको नाच भने फिक्का महशुस हुन्छ ।

सार्वजनिक गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको संगीत रहेको छ। प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

निर्देशक सिमोश सुनुवारका अनुसार यो फिल्म विशेषगरी विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन — अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि आधारित छ।

फिल्ममा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। यसअघि सार्वजनिक गरिएका दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले मन पराइसकेका छन्।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ। सन्तोष गौतमको निर्माण रहेको यस फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन्।

फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ। टिफल्क फिल्मसले वितरण गर्ने फिल्मको डिजिटल अधिकार जी टू वान डिजिटलले खरिद गरेको छ।

फिल्म आगामी जेठ २३ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

 

सम्बन्धित समाचार

सबै