
जापानको टोकियोमा मंगलबार बेलुका सम्पन्न मिस इन्टरनेसनल २०२४ को फिनालेमा नेपाल प्रारम्भिक चरणमै बाहिरिएको छ।
यसपटक मिस नेपाल इन्टरनेसनल करुणा रावतले नेपाललाई प्रतिनिधित्व गरेकी थिइन्। प्रतियोगितामा ७३ देशका सुन्दरीहरू सहभागी भएका थिए। भियतनामकी हुइन थी थान थुईले यसवर्षको मिस इन्टरनेसनलको उपाधि जितेर इतिहास रचिन्, यो उपाधि भियतनामले पहिलोपटक जित्न सफल भएको हो।
प्रतियोगितामा फस्ट रनरअप बोलिभियाकी क्यामिला रोका, सेकेन्ड रनरअप स्पेनकी अल्बा पेरेज, त्यसपछि भेनेजुएलाकी साक्रा गुरेरो र इन्डोनेसियाकी सोफी किराना शीर्ष पाँचमा परेका थिए। परिचय राउण्डमा करुणाले आकर्षक नेसनल कस्ट्युम प्रस्तुत गर्दै दर्शकहरूलाई प्रभावित बनाएकी थिइन्।
यस वर्षको मिस इन्टरनेसनल प्रतियोगितामा मानसिक स्वास्थ्य र दिगोपन (sustainability) को थिमलाई प्राथमिकता दिइएको थियो। करुणाले सोहीअनुरूप तयारी गर्दै राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्य अन्तर्गत “राम्रो स्वास्थ्य र कल्याण” मा आधारित प्रोजेक्ट प्रस्तुत गरेकी थिइन्।
यसअघि, गतसाता सम्पन्न मिस अर्थ २०२४ मा समेत नेपालले अन्तिम २० मा स्थान बनाउन सकेको थिएन।
नेपालको सौन्दर्य प्रतियोगितामा निरन्तरता भए पनि अन्तर्राष्ट्रिय स्तरमा भने अपेक्षित सफलता प्राप्त गर्न अझै चुनौती कायमै देखिएको छ।