‘माइतीघर’को शीर्ष गीतमा उपासना र श्यामाश्री

0 Shares

रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’को शीर्ष गीतको छायांकन सम्पन्न भएको छ। बाग्लुङको कालिका मन्दिरमा यो गीतको छायांकन गरिएको हो।

गीतको भिडियोलाई फिल्मकी नायिकाद्वय उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाले नृत्य गरेर सजाएका छन्। उनीहरूसँगै ५० भन्दा बढी कोरस पनि यो गीतमा फिचरिङ गरिएको निर्माता रोहित अधिकारीले बताए।

५९ वर्षअघि बनेको फिल्म ‘माइतीघर’मा समावेश ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीत आज पनि दर्शकको मनमा बसिरहेको छ। सोही गीतलाई रोहितले आफ्नो फिल्म ‘माइतीघर’मा पुनः समावेश गरेका हुन्। यो गीतले दर्शकको माया पाउने विश्वास गरिएको छ।

गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द र जयदेवको संगीत रहेको छ। गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी गरेका छन्।

निर्माण पक्षले फिल्म ‘माइतीघर’लाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा गरिसकेको छ। उत्कृष्ट फिल्म बनाउन कुनै कसर बाँकी नराखिएको उनीहरूको भनाइ छ।

फिल्म ‘माइतीघर’को निर्देशन मिलन तामाङले गरेका हुन्। फिल्ममा तामाङ संस्कृतिलाई पनि समावेश गरिएको छ, जुन फिल्मको महत्वपूर्ण हिस्सा हो।

सुसन प्रजापतिको छायांकन रहेको यस फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङले लगानी गरेका छन्। फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।

फिल्ममा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायत कलाकारहरूको अभिनय छ।

यो फिल्मको छायांकन म्याग्दीको ताकम गाउँ र धारापानी गाउँमा गरिएको छ।

सम्बन्धित समाचार

सबै