
‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ फिल्मले आफ्नो नाम परिवर्तन गरेको छ। यो फिल्मको नयाँ नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ राखिएको छ।
हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा नपर्ने उद्देश्यले ‘बाहुन’को ठाउँमा ‘मान्छे’ राखिएको निर्माणपक्षले जनाएको छ।
भदौ ६ गते रिलिज हुने यस फिल्मको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ। पोस्टरमा मुख्य पात्र बिजय बराल देखिएका छन्।
पोस्टरमा रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्कन लागेको दृश्य छ। आमाले रातो टीका लगाइदिएर र आर्शिवाद दिइरहेको जस्तो देखिन्छ। पोस्टरको रंगले बिहानको समय संकेत गर्छ।
उनको निन्यानुरो अनुहारले घरपरिवार र आफन्तसँग छुट्टिनुपर्दाको पीडा देखाउँछ। पोस्टरले गाउँका व्यक्तिले गाउँ छोडेर सहरमा संघर्ष गरेको कथा बताउँछ।
निर्माणपक्षले बिजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएका छन्।
फिल्मको छायांकन सकिसकेको छ र हाल पोस्टप्रोडक्सनमा छ।
छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो।
निर्देशक हिमाल न्यौपानेले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई आमा र छोराबीचको भावनात्मक कथा भएको बताएका छन्।
फिल्मको एसोसियट निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन्।
बलियो कलाकार टोली भएको यस फिल्ममा बिजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ। रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको पनि अभिनय छ।
फिल्म पेपरक्लिपको ब्यानरमा निर्माण भएको हो। निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको छ। नवीन गुरुङ (डीओपी) र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक छन् भने तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशकहरू हुन्। निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन्।
गोविन्द शाहीको काफिया फिल्म्सले वितरणको जिम्मा लिएको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने छ।
अल टाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ पछि बिजय बरालको मुख्य भूमिकामा आउने यो वर्षको पहिलो फिल्म हो। विसं. २०८१ मा बिजय र केकीले नेपाली फिल्म उद्योगलाई ब्लकबस्टर फिल्म दिने तयारीमा छन्।