जापानमा महँगो रकममा कृषाले फिल्म साइन गरिन्

0 Shares

फिल्म ‘पिताम्बर’ निर्देशन गरेपछि निर्देशक कृषा चौलागाईंको चर्चा चुलिएको छ। कृषाले यो फिल्ममार्फत आफूलाई आँटिलो निर्देशकको रुपमा प्रमाणित गरिन्। मल्टिस्टार कलाकार लिएर एक्सन जनराको फिल्म सफलतापूर्वक निर्देशन गरेपछि कृषाको चर्चा अझ बढेको छ। अहिले कृषालाई घर बाहिरका फिल्मबाट पनि निरन्तर अफर आइरहेका छन्।

यसैबीच, एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाईंले नयाँ फिल्म साइन गरिन्। उनले नेपाल, भारत र फिलिपिन्सका कलाकारहरूलाई एकसाथ ल्याउने एक अनटाइटल प्रोजेक्टमा हस्ताक्षर गरेकी छिन्।

यो फिल्म यूएनए प्रोडक्सनले निर्माण गर्दैछ। फिल्ममा जापानको एक टिमले पनि सहकार्य गर्ने निश्चित भएको छ। जापानमा रहेर फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो फिल्म निर्माण गर्नेछ।

यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाईं र निर्देशक कृषा चौलागाईंबीच कागजी सम्झौता भइसकेको छ।

फिल्मको छायांकन भदौदेखि सुरु हुनेछ। फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिने पक्का भएको छ। फिल्मको नाम र कलाकारहरूको बारेमा छिट्टै जानकारी दिने निर्माणपक्षले जनाएको छ।

निर्देशक कृषा चौलागाईंले यो फिल्मका लागि महँगो रकम लिएकी छिन्, तर निर्माणपक्षले कृषाले लिएको रकम भने खुलाएको छैन।

कृषाले ‘पिताम्बर’पछि नयाँ प्रोजेक्टमा लागिपरेको र दर्शकको विश्वासलाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेकी छिन्। अहिले फिल्मको स्क्रिप्टमा धमाधम काम भइरहेको छ।

सम्बन्धित समाचार

सबै