देश दौडाहामा ‘महानायक’, दिन खोजेको सन्देश के हो?

0 Shares

आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन्। यसअघि हमालले कुनै पनि फिल्मको प्रमोशन यसरी गरेका थिएनन्। तर, यसपटक भने हमालले ‘नरसिंहाः अवतार’का लागि निकै मिहिनेत गरेका देखिन्छन्। फिल्म रिलिजअघि मिडिया प्रमोशन होस् वा रिलिजपछिको हल प्रमोशन, हमाल निकै उत्साहित देखिए।

राजेश हमाल हल–हलमा पुगेर प्रमोशन गरिरहँदा केहीले आलोचना पनि गरे। ‘महानायकको ब्रान्ड’ लिएर हलसम्म जानुपर्ने? भन्ने टिप्पणी सुनिए। तर, हमाल यसलाई दर्शकहरूसँग प्रत्यक्ष भेटघाटको अवसरका रूपमा लिन्छन्।

राजेश हमालले काठमाडौं मात्र होइन, काठमाडौं बाहिरका हलहरूमा पनि फिल्म हेर्न आएका दर्शकहरूसँग भेट गरे। पूर्वका विभिन्न सिने स्टेशनदेखि लिएर पश्चिमका नेपालगञ्ज, भैरहवा, धनगढीजस्ता सहरहरूका हलमा गएर हमालले साक्षात्कार गरे।

उनी भोलि मंगलबार पोखराका दर्शकहरूसँग हलमा प्रत्यक्ष भेटघाट गर्न जाने तयारीमा छन्। राजधानी मात्र होइन, उनले देशका विभिन्न ठाउँमा पुगेर फिल्मको प्रचारप्रसार गरिरहेका छन्।

हमालले ‘नरसिंहाः अवतार’लाई निकै गम्भीर रूपमा लिएको देखिन्छ। फिल्मको प्रमोशनका क्रममा उनले कतै पनि बडिगार्डको माग गरेका छैनन्। अहिलेका नयाँ पुस्ताका नायकहरू पत्रकार सम्मेलनमै बडिगार्ड माग गर्छन्, तर हमालले भने दर्शकहरूसँग खुलेर कुराकानी गरे र सेल्फी खिचे।

हमाल आज पनि आफू फिल्म क्षेत्रमा उस्तै सक्रिय छन् र आफ्नो प्रोजेक्ट सफल बनाउन पूरा समर्पण गर्छन् भन्ने सन्देश दिन सफल भएका छन्।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमालसँगै राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, टार्जन, रमेश चन्द सोडारी, राजीव जंग बस्नेत, उषा खड्गी र एभिलिना खड्का लगायतका कलाकारको अभिनय छ।

फिल्मले एक सातामै २ करोड ४ लाख ग्रस कलेक्सन गरेको निर्माणपक्षले जानकारी दिएको छ। निर्माता नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपाने हुन्।

सम्बन्धित समाचार

सबै