
नयाँ वर्ष ०८२ को अवसरमा टाइटल डिजाइनसहित वैशाख १ गते घोषणा गरिएको सामाजिक प्रेमकथानक फिल्म ‘जदौ’ की प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन्।
सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रूपमा निर्माण गर्ने यस फिल्मको परिकल्पना तथा लेखन काजी लिम्बूको रहेको छ। फिल्मको निर्देशन को गर्ने भन्नेबारे भने निर्माण टिमले खुलाएको छैन।
भदौदेखि सुटिङ सुरु हुने ‘जदौ’ का छायाँकार श्याम तामाङ हुन्। बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको यस फिल्मका गीतहरूमा बाबुल गिरीको संगीत रहेको छ।
फिल्मका सह-निर्मातामा ओम चेम्जोङ, राजाराम सुवेदी र शान्ता तामाङ छन्। अन्य कलाकार तथा प्राविधिक टिमको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने समिश्रण मुभिजका निर्देशक अञ्जन शर्माले बताएका छन्।
फिल्म ०८२ सालभित्रै दर्शकमाझ ल्याउने योजना निर्माण टिमको छ।