चन्द्रको ‘आ बाट आमा’मा पल शाह अनुबन्धित

0 Shares

लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’ मा अभिनेताको रूपमा पल शाह अनुबन्ध भएका छन्। उनलाई हालै निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरेको हो।

पल शाहले यो फिल्मको स्क्रिप्ट आफूलाई मन परेको कारण फिल्ममा काम गर्न राजी भएको बताएका छन्। फिल्ममा अनुबन्ध भइसकेपछि उनले स्क्रिप्टले आफूलाई भावुक बनाएको र काम गर्न झनै उत्साहित बनाएको बताए।

फिल्मको छायांकन चाँडै सुरु होस् भन्ने चाहनाले उनले निर्देशक पन्तलाई आग्रह समेत गरेका छन्।

उनले भने, “सबैभन्दा पहिला त यो फिल्मको स्क्रिप्ट मन पर्यो। स्क्रिप्ट एकदमै इमोसनल छ। अनि टिममा पनि दिग्गज कलाकारहरू छन्। त्यसैले पनि ‘आ बाट आमा’ मा काम गर्न लागेको हुँ। साथै चन्द्र पन्त दाईको ‘ह्रस्वदीर्घ’ हेर्दा उहाँको मेकिङ उत्कृष्ट लागेको थियो। त्यसैले यो फिल्म पनि मेकिङको हिसाबले राम्रो हुनेमा म ढुक्क छु।”

पलले यो फिल्ममा आफुले खेलेका फिल्महरू मध्ये कथाको हिसाबले सबैभन्दा उत्कृष्ट भएको बताए।

“यो स्क्रिप्ट हामीले २–३ पटक सुन्यौं। सुन्ने र सुनाउने सबैजना इमोसनल भयौं,” उनले भने, “मैले अहिलेसम्म गरेको फिल्ममध्ये यो नै सबैभन्दा इमोसनल फिल्म बन्नेछ भन्ने लाग्छ। दर्शकले पनि पक्कै मन पराउनुहुन्छ भन्नेमा म ढुक्क छु, र पूरा टिमलाई पनि भरोसा छ।”

उनले हाल आफ्नो क्यारेक्टरको बारेमा खुलासा गर्न चाहेनन् तर चाँडै जानकारी दिने बताएका छन्।

यसअघि आमाको भूमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन्। निर्देशक चन्द्र पन्तले फिल्म ‘ह्रस्वदीर्घ’ मार्फत १६ वर्षपछि नेपाली फिल्ममा पुनरागमन गरेका थिए, जसलाई दर्शकले निकै रुचाएका थिए। त्यसैका कारण विपनाले पुनः निर्देशक पन्तसँग दोस्रोपटक सहकार्य गरेकी हुन्।

निर्देशक पन्तका अनुसार ‘आ बाट आमा’ मा विपना शीर्ष भूमिकामा हुनेछिन्।

अभिमन्यु निरवीले लेखिरहेको स्क्रिप्टको थिम पोस्टर केही दिनअघि सार्वजनिक गरिएको थियो, जहाँ आमाको आँखाबाट झर्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरिरहेको देखिन्छ। फिल्मले आमा र सन्तानबीचको गहिरो कथा प्रस्तुत गर्नेछ।

निर्देशक पन्तका अनुसार फिल्म आगामी फाल्गुन १५ गतेदेखि प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै