
‘द ब्ल्यू लाइट’ फिल्मको शुभमुहूर्त गरिएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माण पक्षले शुभमुहूर्त सम्पन्न गरेको हो।
शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो। शुभमुहूर्तसँगै फिल्मको छायांकन जेठ २२ गते बिहीबारदेखि सुरु हुनेछ।
काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने यो फिल्मको छायांकन तालिका २० दिनको तय गरिएको छ।
‘द ब्ल्यू लाइट’ लाई बलिराम चौहानले निर्देशन गर्नेछन्। चौहान हाल चर्चामा रहेको फिल्म ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक हुन्। यो उनको डेब्यु निर्देशन हो।
फिल्मको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ। पोस्टरमा निलो रंगले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन्। पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग मात्र देखाइएको छ। उनको जुङरुङ्ग कपाल र विछिप्त मुद्राले फिल्मको रहस्यमय र मनोवैज्ञानिक पृष्ठभूमि झल्काउँछ।
‘द ब्ल्यू लाइट’ मा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी प्रमुख भूमिकामा छन्। बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुन लागेको यस फिल्मलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्न लागेको हो। को–प्रोड्युसरको रूपमा रमन ग्रे रहने छन्। फिल्मको छायांकन नरेन्द्र मैनालीले गर्नेछन्।
आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, र दिलीप पन्त निर्माण नियन्त्रक छन्।
निर्देशक चौहानले फिल्मको कथावस्तु गोप्य राखेका छन्। “विस्तारै हाम्रा प्रचार सामग्रीमार्फत कथावस्तुबारे जानकारी दिँदै जानेछौं,” निर्देशक चौहानले भने, “हामी यो जनराकै एक उत्कृष्ट फिल्म बनाउनेछौं। दर्शकले रुचाउने स्तरको फिल्म बनाउने प्रयास गर्दैछौं।”
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले जानकारी दिए।