
निर्माणाधीन फिल्म ‘परालको आगो’ मा चार दशक पुरानो कालजयी गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न एलै मन छैन’ समावेश गरिने भएको छ। निर्माण पक्षले गीतलाई समावेश गर्न संगीतकार शान्ति ठटालसँग अनुमति लिएको हो।
संगीतकार शान्ति ठटालसँग निर्माता सुशील पोखरेल स्वयं भारतको सिलगुडीस्थित उनको निवासमा पुगेर कागजी सम्झौता गरेका हुन्। यस गीतको संगीत शान्ति ठटालले दिएका हुन्, शब्द मनबहादुर मुखियाको र स्वर स्व. अरुणा लामाको रहेको छ।
निर्माता पोखरेलका अनुसार फिल्म ‘परालको आगो’ का लागि यो गीत आवश्यक भएकाले मूल सिर्जनाकर्तासँग नै अनुमति लिन खोजिएको हो। उनका अनुसार दुवै पक्षबीच लिखित सम्झौता समेत भइसकेको छ।
संगीतकार ठटालले फिल्ममा आफ्नो संगीत समावेश हुन लागेकोमा खुशी व्यक्त गर्दै भनिन्, “श्री ॐ सिने मेकर्स प्रा.लि.बाट निर्माण हुन लागेको नेपाली कथानक फिल्म ‘परालको आगो’मा मैले कम्पोज गरेको गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न एलै मन छैन’ समावेश गर्न पूर्ण मञ्जुरी दिन्छु।” साथै उनले फिल्मको सफलताका लागि शुभकामना समेत दिइन्।
गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ मा आधारित यस फिल्ममा जितु नेपाल, प्रकाश सपुत र सुहाना थापाले अभिनय गर्ने तय भइसकेको छ। केही साताअघि निर्माण टिमले उनीहरूलाई अनुबन्धित गरेको हो।
फिल्मको निर्माण हरिओम सिने मेकर्स ले गर्दैछ भने निर्देशक लक्ष्मण सुनार रहनेछन्। उनी ‘बुलाकी’ जस्तो बहुप्रशंसित फिल्म निर्देशन गरिसकेका छन्। निर्माता पोखरेलले लोकेसन, प्रस्तुतीकरण र पटकथामा नयाँपन दिने बताएका छन्। फिल्मको छायांकन फागुन महिनाबाट सुरु हुने र २०८२ सालको दशैंमा प्रदर्शन गर्ने योजना रहेको छ।
यही नाममा करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म बनाएका थिए। ‘परालको आगो’ कथाकार मैनालीको ‘नासो’ नामक कथा संग्रहमा संग्रहित एक प्रमुख कथा हो।
निर्माता पोखरेल यसअघि ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ जस्ता फिल्म निर्माण गरिसकेका छन्।