‘दुई रुपैयाँ’बाट कति माथि लाग्लान आशिफ, ‘जन्ते बाख्रो’ले पार गर्ला त त्यो चुनौती?

0 Shares

आशिफ शाह धेरैपछि फिल्म ‘जन्ते बाख्रो’ मार्फत दर्शकमाझ आउँदैछन्।

मिडियामा सक्रिय देखिए पनि उनले कमै फिल्ममा अभिनय गरेका छन्। ‘मिसन पैसा’ मा सानो भूमिका निर्वाह गरेका आशिफ ‘लभ सासा’‘दुई रुपैयाँ’ मा प्रमुख भूमिकामा देखिएका थिए। उनले ‘कर्कश’ फिल्मको निर्देशन समेत गरेका थिए।

म्युजिक भिडियो निर्देशनमार्फत ख्याति कमाएका आशिफले ‘जन्ते बाख्रो’ को पात्र आफू अनुकूल भएकाले फिल्ममा अभिनय गर्न सहर्ष स्वीकारेको बताए।

उनका अनुसार, निर्देशक सिमोस सुनुवारले आफैं उनलाई सोचेर अफर गरेका थिए। सिमोसले एक मेकअप आर्टिस्टसँग सुझाव माग्दा उनले “आशिफ दाइलाई फिट हुन्छ” भनेपछि आशिफलाई अफर गरिएको थियो। आशिफले भने, “यो पात्र मेरो व्यक्तिगत स्वभावसँग मेल खान्छ, त्यसैले म जोडिएको छु।”

निर्देशक सिमोसले पनि आशिफ उपयुक्त हुने कुरामा ढुक्क भए पनि अरूसँग पुष्टि गरेर मात्र अफर दिएको बताए। “हाम्रो सर्कल उस्तै भएकोले मैले साथीहरूबाट राय लिएर मात्र उनलाई प्रस्ताव गरेको हुँ,” उनले स्पष्ट पारे।

आशिफले सौगात मल्लसँग काम गर्ने अवसर मिलेकामा आफू उत्साहित भएको सुनाए। उनले भने, “सौगातले मलाई अभिनयका नयाँ आयामहरू सिकाएका छन्। यस फिल्मको काम गराई नै अभिनय शिक्षा जस्तो भयो।”

फिल्मको ट्रेलरमा देखिने बाख्रो, बोकेको डोरीलगायतका दृश्यहरू कथासँग जोडिएको बताए। आशिफले अबका दिनहरूमा सिनेमामा विविध भूमिकामार्फत आफूलाई प्रस्तुत गर्ने चाहना पनि व्यक्त गरे।

निर्देशक सिमोसले फिल्म ‘जन्ते बाख्रो’ को शीर्षकले नै नेपाली परम्परा झल्काउने भन्दै यसले नयाँ पुस्तालाई जिज्ञासु बनाउने विश्वास व्यक्त गरे। उनले भने, “फिल्मको शीर्षक सुनेर नै धेरैले सोधपुछ गरेका छन्। कम्तीमा परम्परा र संस्कृति के हो भन्ने बुझ्ने माध्यम त भएको छ।”

फिल्ममा आशिफसँगै सौगात मल्ल, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम आदिको अभिनय रहेको छ।

ग्रामीण जीवनशैली, जन्तीलाई टपरी र दुनामा खुवाउने परम्परा, मौलिक भेषभूषा तथा परिवेशलाई समेटेर तयार पारिएको फिल्म ‘जन्ते बाख्रो’ ले दर्शकलाई मनोरञ्जनसँगै परम्पराको जानकारी दिने निर्माण पक्षको विश्वास छ।

फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन्। ‘मुईन इन्टरटेनमेन्ट’ द्वारा निर्मित फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। छायांकन निर्देशक हरि हुमागाईं, छायांकन उत्तम हुमागाईं र सम्पादन सुनिल शिवभक्तिको रहेको छ। फिल्मको डिजिटल अधिकार G2One Digital ले प्राप्त गरेको छ भने वितरण टिफल्क फिल्म्स ले गर्दैछ।

फिल्मका गीत ‘मुकु मुकु म्या’, ‘घामै राजा’‘अङ्गुरको झुप्पो’ दर्शकले निकै मनपराएका छन्। ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएको छ।

निर्माण पक्षका अनुसार फिल्म जेठ २३ गतेदेखि नेपालसहित विश्वभर एकैसाथ प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै