
फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को गीत सार्वजनिक भएको छ। सार्वजनिक गरिएको ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर रहेको छ भने मनिषा सुनारको पनि आवाज रहेको छ।
गीतमा विभिन्न आरोह–अवरोह छन्। लयमा रहेको उतारचढावले यो गीतलाई अरू आम गीतभन्दा केही फरक बनाएको छ। लयको भेरिएसनले गीतलाई गहकिलो बनाएको छ।
गीतले फिल्मको सार प्रस्तुत गरेको छ। मुख्य पात्रले घर छोडेपछि सहरमा गरेको संघर्ष र भोगेको पीडा गीतमा समेटिएको छ।
भावनात्मक गीतमा आमाको ऋण तिर्न र आँखाको आँसु पुछ्न काठमाडौं आएको छ भन्ने सन्देश दिइएको छ। तर, सुरुमा जसरी काठमाडौं सहज र सरल होला भन्ने सोचेको थियो, त्यसको ठीक उल्टो अवस्था गीतमा देखाइएको छ।
आमालाई सुख दिन भनेर आएको छोराले जब काठमाडौंमा अनेक हन्डर–ठक्कर खान्छ, उसलाई अब बाँचेर घर फर्किन नसकिने अवस्था आएको जस्तो लाग्ने भाव गीतमा समेटिएको छ।
काठमाडौंमा पैसा कमाउन नसकेपछि समय रोकिए हुन्थ्यो भन्ने चाहना र बिरामी आमालाई चाँडै नलैजा भनेर कालसँग गरिएको विन्तीले श्रोता तथा दर्शकलाई भावुक बनाउँछ।
आमाको आयु बढोस् भन्ने प्रार्थनाले मन छोन्छ। मान्छे मान्छेजस्तो छैन र घर घरजस्तो छैन भन्ने काठमाडौंको यथार्थ चित्रणले फिल्मको कथा बोलेको छ।
निर्माण पक्षले यसअघि आमाछोरा बीचको इमोसनल कथा भन्ने फिल्म भनेर उल्लेख गर्दै आएकोमा, यो गीतले त्यसलाई स्पष्ट पारेको छ।
फिल्मका एसोसियट निर्देशक मनिष राउतका अनुसार, यो गीत आफ्नो सफलताको प्रतीक्षा गरिरहेका आमाहरू र तिनका खुसीका लागि शहर छिरेका छोराछोरीहरूलाई समर्पित गरिएको हो।
गीतको भिडियोमा मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ।
फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते प्रदर्शन हुने भएको छ।
विजय बराल यस फिल्मका मुख्य कलाकार हुन्। निर्माण पक्षले उनलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ।
फिल्मको छायांकन सकिएर हाल पोस्ट–प्रोडक्सनमा रहेको छ। यस फिल्मको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो।
निर्देशक हिमाल न्यौपानेका अनुसार, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा आमा–छोराबीचको भावनात्मक कथा छ, जुन कुरा यो गीतले स्पष्ट पारेको छ।
फिल्मका एसोसियट निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत हुन्।
बलियो लाइनअप रहेको यस फिल्ममा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटालगायतको मुख्य भूमिका रहेको छ।
यस्तै, फिल्ममा रियर राई, कविता आले, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, सृष्टि खड्का, निरु खड्का गौतम, सुवास सिंह ठकुरीलगायतको पनि अभिनय रहेको छ।
‘पेपरक्लिप’ ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिल्सिना र चुडामणि सिवाकोटी रहेका छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन्। निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन्।
गोविन्द शाहीको ‘काफिया फिल्म्स’ले फिल्मको वितरणको जिम्मा लिएको छ।
अल टाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आएको यो वर्षको पहिलो फिल्म हो।
वि.सं. २०८१ मा नेपाली फिल्म उद्योगलाई ब्लकबस्टर दिने आशा गरिएको यो फिल्ममा विजय र केकी मुख्य भूमिकामा देखिँदैछन्।