कोटी होमदेखि हलसम्म हमाल, जान्नुस् के के गरे ?

0 Shares

‘महानायक’ राजेश हमालले फिल्म ‘नरसिंहाः अवतार’को प्रचारलाई अझै आक्रामक रूपमा अगाडि बढाइरहेका छन्। फिल्म रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि हमालको देश दौडाहा रोकिएको छैन।

त्यसै क्रममा, हमाल मंगलबार पोखरा पुगे। फिल्मको सिङ्गो टिमसहित पोखरा पुगेका हमाल दिनभर व्यस्त रहे।

पोखरामा जारी कोटी होममा हमालले १ घन्टा समय बिताए। कोटी होममा पुगेर उनले जीवन र दर्शनको कुरा गरे। धर्म र मनोरञ्जनका विषयमा बोले। हमालको कुराले पोखरेलीवासीहरू प्रभावित बने।

कोटी होममा १ घन्टा जति समय बिताएका हमाल पोखराका मिडटाउन र क्यूएफएक्स हलमा दर्शकसँग साक्षात्कार गर्न पुगे।

हलमा पुगेका हमालले दर्शकसँग तस्वीर खिचाए, नृत्य गरे र खुशी साटे। फिल्मका बारेमा दर्शकको प्रतिक्रिया पनि लिएका थिए।

पोखरामा हमालको क्रेज गज्जब देखियो। फिल्मको टिमले बाजागाजा सहित हमाललाई स्वागत गरेको थियो। हल–हलमा बाजा बजाउँदै हमाललाई प्रवेश गराइएको थियो।

पोखरेली दर्शकहरू राजेश हमालको उपस्थितिमा दंग देखिए। हमालसँगै फिल्मका मुख्य नायक विजय कटुवाल, नायिका सनिषा भट्टराई, निर्माता ध्रुव न्यौपाने, बाल कलाकार एभिलिना खड्का, कलाकार रमेश चन्द सोडारी र वितरक छविराज ओझालगायत पोखरा पुगेका थिए।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो फिल्म जेठ ९ गतेदेखि प्रदर्शनमा आएको हो। फिल्ममा ध्रुव न्यौपाने, नेम महर्जन, नरेन्द्र महर्जन र दीपक प्रसाद ढकालको लगानी छ।

सम्बन्धित समाचार

सबै