‘जन्ते बाख्रो’ प्रिमियर – सेलिब्रेटीहरूले त गरे तारिफ, दर्शकले के गर्लान ?

0 Shares

‘जन्ते बाख्रो’को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीहरूले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन्।

बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलको क्यूएफएक्समा आयोजना गरिएको प्रिमियरमा फिल्म हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिइन्।

उनले भनिन्, “म धेरैपछि हलभित्र निकै हाँसेकी छु। आशिफ दाइ (आशिफ शाह) लाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो। उहाँ यसअघिका फिल्मभन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ।”

वर्षासँगै रहेका अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ले परम्परासँगै मनोरञ्जन दिएको बताए। उनले अभिनेता शाहको ग्रामीण परिवेशसँगै फिल्ममा देखिएको सुन्दर दृश्यको प्रशंसा गरे। “यदि ट्रेलरले तपाईंलाई आकर्षित गरेको छ भने फिल्म हेर्न आउनुहोस्, इन्जोय गर्नुहुनेछ। ग्रामीण सुन्दरता, सामाजिक सद्भाव र परम्परा समेटिएको यो फिल्मले पूर्ण मनोरञ्जन दिन्छ,” संजोगले भने।

अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले फिल्म निर्माणकै क्रममा पटकथाको बारेमा जानकारी पाएको बताए। फिल्म हेरेर निस्कँदा पटकथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले प्रशंसा गरे।

“मलाई फिल्म बन्दाको बेलामा सुनेको कथा कस्तो होला भन्ने लागेको थियो। रमाइलो बनेको छ, म धेरै ठाउँ हाँसेको छु। प्रिमियरमा सहभागी सबैलाई होल्ड गर्न सफल भएको छ। यस फिल्ममार्फत राम्रो निर्माता सन्तोष गौतमको आगमन भएको छ। उहाँले फिल्मलाई राम्रो बनाउन कुनै कन्जुस्याइँ गर्नुभएन,” उनले भने।

गायक महेश काफ्लेले फिल्मले मानवमा देखिने सम्पूर्ण भाव व्यक्त गरेको बताए। “यसको कथा सरर बगेको छ, हेरुन्जेल हाँसो ल्याउँछ। लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ। मैले इन्जोय गरेँ,” उनले भने।

सिनेकर्मी र सञ्चारकर्मीबाट “मनोरञ्जनको प्याकेज” भन्ने प्रतिक्रिया पाएपछि अभिनेत्री गरिमा शर्माले आफूमा उत्साह थपिएको बताइन्। “प्रिमियरमा सबै फिल्म बुझ्ने मान्छेहरू आउनुभएको छ। हामीले रमाइलो, होल्ड भएको, बोर नलाग्ने प्रतिक्रिया पाएका छौँ। पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, अब रेगुलर शोबाट पनि यस्तै प्रतिक्रिया आउने अपेक्षा राखेकी छु,” उनले भनिन्।

पहिलो पटक मुख्य भूमिकामा रहेकी गरिमाले आफूले बोकेको पात्र र जिम्मेवारीले अहिलेको भावनालाई शब्दमा व्यक्त गर्न नसकिने बताइन्। “मैले निभाएको पात्र वरिपरि नै फिल्म घुम्छ,” उनले भनिन्।

अभिनेता लोकेन्द्र लेखकले निर्माण समूह, कलाकार र कथा राम्रो भएकाले फिल्म राम्रो बनेको बताए। उनले पारिवारिक र मनोरञ्जनात्मक फिल्म भएकाले सम्पूर्ण परिवारलाई एकसाथ हलसम्म आउन आग्रह गरे।

अभिनेता आशिफ शाहले दर्शक भएर फिल्म हेर्दा रमाइलो अनुभव भएको बताए। उनले गाउँको सेटअपमा काम गर्दा नयाँ अनुभव पाएको बताए। “यो पारिवारिक फिल्म हो—हाँसो, रोदन सबै छ। मिश्रण राम्रो छ। आजको प्रतिक्रिया उत्साहजनक छ, शुक्रबारदेखि दर्शकबाट पनि यस्तै अपेक्षा राखेको छु,” उनले भने।

अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शनपछि दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा रहेको बताए। “हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, दर्शकले रुचाउनुहुन्छ भन्ने आशा छ,” उनले भने।

निर्माता सन्तोष गौतमले आफूले निर्माताको रूपमा कुनै सम्झौता नगरेको बताए। फिल्म पारिवारिक, मौलिक विषयवस्तुमा आधारित भएकाले सम्पूर्ण परिवारका लागि उपयुक्त रहेको उल्लेख गरे। जेठ २३ गते शुक्रबारदेखि प्रदर्शन हुने फिल्मको अग्रिम टिकट बुकिङ खुला भइसकेको छ।

‘जन्ते बाख्रो’ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनाको भोज, मौलिक चालचलन रमाइलो ढंगले प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ। सार्वजनिक गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ दर्शकले रुचाइसकेका छन्।

सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। छायांकन निर्देशन हरि हुमागाईं, छायांकन उत्तम हुमागाईं, सम्पादन सुनिल शिवभक्ति र वितरण टिफल्क फिल्म्सद्वारा गरिएको छ। डिजिटल अधिकार जी टु वान डिजिटलले लिएको छ।

सम्बन्धित समाचार

सबै