‘अभिमन्यु : च्याप्टर–१’को सार्वजनिक पोस्टरले के भन्छ ?

0 Shares

‘अभिमन्यु : च्याप्टर–१’ले पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु गरेको छ।

९९ दिनको काउन्टडाउन सुरु गर्दै निर्माण टिमले आज पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरमा उल्लेख भएअनुसार अब यो फिल्म रिलिज हुन ९९ दिन बाँकी छ। ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुँदैछ।

पोस्टर तराईको सेटअपमा आधारित छ। धानबारीको फाँट र छेउमा केराको बगानले तराई क्षेत्रको परिवेश देखाउँछ। धानबारीमा एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा, हातमा किताब र कपी च्यापेर बोकेर लैजाँदै गरेको दृश्य देखिन्छ। उनीहरू दुवै मधेसी समुदायका छन्। फिल्मको कथा बारेमा भने निर्माण टिमले कुनै जानकारी दिएको छैन।

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ अहिले पोस्ट–प्रोडक्सन चरणमा छ। मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया र सुष्मा निरौला छन्।

फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्ष देखाउने संकेत दिएको छ। पैसाको लोभमा परेर जालोमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रको संघर्ष फिल्मको मूल कथा हो भन्ने बुझिन्छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो।

मुकेश खनालको लेखन रहेको फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन्। उनले यसअघि ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए।

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।

लाइन प्रोड्यूसर जीवन शाक्य, मुख्य सहायक निर्देशक आकाश उखेडा, सम्पादक मदन घिमिरे र निर्माण नियन्त्रक सरोज श्रेष्ठ रहेका छन्। शरद महतो फिल्मका डीओपी हुन्।

यो फिल्म विश्वभर नेपाली र हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ।

सम्बन्धित समाचार

सबै