‘पिताम्बर’ टिमले मनायो ५१ दिन,कलाकार तथा प्राविधिकलाई गर्‍यो सम्मान

0 Shares

गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ले बिहीबार ५१ दिन पुरा गरेको छ। यस फिल्मले रञ्जना सिनेप्लेक्स, विश्वज्योति, बीएसआर र बीग मुभिज हलहरूमा ५१ दिन पुरा गरेको हो। निर्माण पक्षले फिल्मको ५१ दिन पुरा भएको अवसरमा ‘पिताम्बर २’ को पनि घोषणा गरेको छ।

बिहीबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा आयोजना गरिएको विशेष कार्यक्रममा ५१ दिनको सफलता मनाउँदै कलाकार तथा प्राविधिकलाई सम्मान गरेको हो। पत्रकारहरूलाई पनि सम्मानपत्र प्रदान गर्दै, सोही समारोहमा फिल्मको दोस्रो श्रृंखलाको औपचारिक घोषणा गरियो।

कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुप विक्रम शाही, प्रमोद अग्रहरिसहित सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो।

सोही अवसरमा निर्देशक चौलागाईंले दर्शकको साथ र सहयोगले ‘पिताम्बर’ले ५१ दिन पुरा गर्न सफल भएको बताउँदै सबैप्रति आभार व्यक्त गरिन्। यस सफलताबाट निकै उत्साहित देखिएकी उनले आगामी फिल्ममा गल्ती सुधार्दै अझ राम्रो फिल्म ल्याउने बताइन्। उनले भनिन्, “यो फिल्ममा भएका गल्तीहरू अर्को फिल्ममा सुधार्दै अझ बुलन्द काम गर्नेछु।” केही दिनअघि जापानमा यही फिल्मबाट बेस्ट डाइरेक्टरको अवार्ड जितेकी कृषाको पहिलो निर्देशन फिल्म ‘ऐँचो पैंचो’ हो, जुन समीक्षात्मक रूपमा सफल देखिएको थियो।

यस फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, र दिव्या रायमाझीको अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै