
टंक बुढाथोकीको निर्देशन तथा निर्माणमा बनेको फिल्म ‘मन बिनाको धन’ को सुटिङ सम्पन्न भएको छ। गायक अशोक दर्जीको प्रमुख अभिनय रहेको फिल्मको कन्सर्ट दृश्य प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा छायांकन गर्दै इनडकल्याप गरिएको हो।
फिल्मको छायांकन २८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा गरिएको थियो। निर्देशक टंकका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भए पनि मिति भने तय गरिएको छैन।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।
सामाजिक विषयवस्तुमा आधारित यस फिल्मको कथा टंक बुढाथोकी स्वयंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। फिल्मकी निर्मातामा विष्णु माया मैनाली र कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छन्। सहनिर्मातामा जी.पी. संग्रौला, बिबेक नेपाल र विजया पाण्डे रहेका छन्।
फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामा र नवराज उप्रेतीको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ।
अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका थिए। उक्त गीतमा टंक बुढाथोकीको संगीत रहेको थियो। दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।