सुशील र अञ्जनाको फिल्म ‘परिवर्तन’ को शुभ मुहूर्त

0 Shares

 नेपाली फिल्म ‘परिवर्तन’ को शुभ मुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चनासहित सम्पन्न भएको छ।

विजय केरुङले निर्देशन गर्ने यस फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ। मुहूर्तसँगै फिल्मको छायाङ्कन पनि सुरु भएको छ। फिल्मको छायाङ्कन करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थानहरू झापा, विराटनगर र इलाममा गरिनेछ। निर्माण पक्षले यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ।

मुहूर्त समारोहमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले पहिलो सट दिएका थिए। मुहूर्त सटको ‘एक्सन कट’ अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले गरेका थिए भने नेपाली काँग्रेसका मेचीनगर सचिव मुकेश लिम्बुले ‘क्ल्याप’ हानेका थिए। यस अवसरमा कलाकारहरू सुशील श्रेष्ठ, अञ्जना बराइली, आशा पौडेल, सुवास मेचे, गौतम तिवारी, आयशा कार्कीका साथै निर्देशक विजय केरुङ र निर्माता दीपक सिवाकोटी लगायत फिल्म युनिट उपस्थित थियो। साथै, अन्य स्थानीय जनप्रतिनिधिहरू र समाजसेवीहरूको पनि उपस्थिति थियो।

दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने यस फिल्मले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो, र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई उजागर गर्ने बताइएको छ।

यस फिल्मका निर्माता दीपक सिवाकोटीले नै यसको कथा लेखेका हुन्। फिल्ममा सुशील र अञ्जनासहित सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आयशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय रहनेछ।

फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन्। छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन भूपेन्द्र अधिकारीले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य निर्देशन कमल राईले तथा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन्। निर्देशकको सहायकका रूपमा नवराज शर्मा रहनेछन् भने प्रोडक्सन हेड अरुण रेग्मी हुन्।

‘परिवर्तन’ शीर्षकमा यसअघि पनि वि.सं. २०२८ सालमा फिल्म निर्माण भएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए। अब झन्डै पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो।

सम्बन्धित समाचार

सबै