‘द ब्ल्यू लाइट’ पोस्टर, किन छ वेनिशाको यस्तो तनाव अन्दाज ?

0 Shares

‘द ब्ल्यू लाइट’ फिल्मको पोस्टर सार्वजनिक भएको छ।

निर्माण पक्षले आइतबार फिल्मको पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरमा फिल्मकी प्रमुख कलाकारमध्ये एक बेनिशा हमाल छिन्। उनलाई बारमा देखाइएको छ। औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन्।

निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडि रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ।

कसैले आश्वासन दिएर धोका दिएपछिको तनाव हो कि भन्ने अनुमान गर्न सकिन्छ। तर यसबारे निर्माण पक्षले प्रष्ट पारेको छैन। बेनिशाको रोल र फिल्मको कथाबारे विस्तारै खुलाउँदै जाने निर्माण पक्षले जनाएको छ।

पोस्टरले कतै यो फिल्मले काठमाडौंको रंगीन नाइटलाइफभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानको कथा त भन्दै छैन भन्ने संकेत दिएको छ। तर, प्रष्ट छैन।

गत बिहीबारबाट यो फिल्मको छायांकन सुरु भइसकेको छ। काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने फिल्मको छायांकन तालिका २० दिनको छ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरिरहेका छन्। चौहान अहिलेको प्रतिक्षित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन्। यो उनको डेब्यु निर्देशन हो।

फिल्मको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ। थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन्। पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ। उनको जुंगरुंग कपाल तथा विचित्र मुद्राबाट फिल्मको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ।

‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन्। फिल्मका बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्म स्काइफल पिक्चर्सले प्रस्तुत गर्न लागेको हो। ‘द ब्ल्यू लाइट’का को-प्रोड्युसर रमन ग्रे रहनेछन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहनेछन्। फिल्मको छायांकन नरेन्द्र मैनालीकै हुनेछ।

आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन्।

सम्बन्धित समाचार

सबै