युरोपमा नेपालीको संघर्षको कथा- ‘रातो पासपोर्ट’

0 Shares

नेपाली फिल्म ‘रातो पासपोर्ट’ निर्माण हुने भएको छ। युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यसाथ पुगेका नेपालीहरूले गर्ने संघर्षको कथालाई फिल्मले पर्दामा उतार्ने जनाइएको छ।

सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस फिल्मको निर्देशन सिमसोन तामाङले गर्दैछन्। फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले तयार पारेका छन्।

निर्माण पक्षले केही दिनअघि सामाजिक सञ्जालमा “सबै भन्छन् – त्यता गएपछि सेटल भइन्छ रे। परिवारको भविष्य सुरक्षित हुन्छ रे। रातो पासपोर्ट पाइन्छ रे… !” भन्दै पोस्ट गरेका थिए। तर, औपचारिक निर्माण घोषणा भने मिनिमल पोस्टर सार्वजनिक गर्दै आइतबार मात्र गरिएको हो। पोस्टरको थिम युरोपको देश पोर्चुगलको पासपोर्टको कभर स्टाइलमा तयार पारिएको छ।

‘रातो पासपोर्ट’मा लोकबहादुर तामाङ निर्माता र प्रवेश पौडेल कार्यकारी निर्माताको भूमिकामा रहनेछन्। पौडेलले यसअघि ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ फिल्मको निर्देशन गरेका थिए।

फिल्मको प्राविधिक टिममा मेकअप तथा एसएफएक्सका लागि अमृत मरहट्ठा, छायाँकारका रूपमा रवीन्द्र न्यौपाने र संगीतकारका रूपमा जयन जे. वाइबा जोडिएका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले गर्नेछन्।

निर्देशक सिमसोन तामाङ नेपाली फिल्म उद्योगमा एक्सन निर्देशक तथा प्रमुख सहायक एक्सन निर्देशकका रूपमा लामो समयदेखि सक्रिय छन्। उनले सन् २०१३ यता ‘बाउन्सर’, ‘बडी गार्ड’, ‘लभ सब’, ‘मधुमास’, ‘ब्ल्याक फ्ल्याग’, ‘किल्ला’, ‘ऐश्वर्य’, ‘राधे’, ‘रुद्र’, ‘पिँजडा ब्याक अगेन’ लगायतका नेपाली एक्सन फिल्महरूमा प्रमुख सहायक एक्सन निर्देशकका रूपमा काम गरेका छन्। त्यस्तै, उनले ‘धन्य माया जाल’, ‘असुर: द मिस्ट्री’ (हिन्दी) र ‘लप्पन छप्पन २’ जस्ता फिल्ममा एक्सन निर्देशकको रूपमा काम गरिसकेका छन्।

फिल्मका कलाकार तथा क्रू सदस्यहरू नेपालबाट चाँडै नै छनोट गरिने निर्माण पक्षले जनाएको छ। साथै, युरोप र युकेमा रहेका कलाकारहरूलाई अडिसनमार्फत छनोट गरिने योजना रहेको कार्यकारी निर्माता प्रवेश पौडेलले बताएका छन्। फिल्मको छायांकन पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा हुनेछ।

सम्बन्धित समाचार

सबै