
फिल्म ‘लाज शरणम्’ निर्माण टिमले प्रदर्शनको १०१ औं दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग गरेको छ।
‘लाज शरणम्’ टिमले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका–५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, झोला र पानी पिउने बोतल वितरण गरेको हो।
मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा फिल्मका निर्माता नवीन श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए।
निर्माता श्रेष्ठले भने, “सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘लाज शरणम्’को १०१ औं दिनको उपलक्ष्यमा हामीले विद्यार्थीलाई सहयोग गरेका हौं। यस अवसरमा मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटीएम सिन्धु चौतारा सिटीलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि सामाजिक काममा सहकार्य गर्दै जानेछौं।”
कुमार कट्टेलको निर्देशन रहेको फिल्म ‘लाज शरणम्’ले काठमाडौंका दुई सिनेमाहलमा प्रदर्शनको १०१ औं दिन मनाएको हो।
शिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनमा आएको यस फिल्मले न्युरोडस्थित रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित विएसआर मुभिजमा १०१ दिनको प्रदर्शन पूरा गरेको हो।
‘लाज शरणम्’ गत वर्ष कात्तिक १५ मा रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ पछि १०१ दिन मनाउने पहिलो फिल्म बनेको हो।
फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङको अभिनय रहेको छ। निर्देशक कुमार कट्टेल स्वयं पनि विशेष भूमिकामा देखिएका छन्।
जेपीटी क्रिएसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माता हुन्।
श्रेष्ठले आफ्नो पहिलो फिल्मले पाएको माया र समर्थनले उनलाई थप प्रेरित बनाएको बताएका छन्। उनी ‘पाँच पाण्डव’ नामक नयाँ फिल्म निर्माणको तयारीमा छन्, जसको निर्देशन वसन्त निरौलाले गर्नेछन् र पटकथा सुशील पौडेलले लेखिरहेका छन्।
श्रेष्ठले ‘लाज शरणम् २’ पनि निर्माणको तयारी भइरहेको जानकारी दिएका छन्।