
गत शुक्रबार अर्थात् जेठ २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको निर्माण टिम कलाकारसहित शुक्रबार तथा शनिबार दर्शकको राम्रो चाप भएको हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो ।
अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्मले दर्शकबाट ‘उत्कृष्ट वर्ड अफ माउथ’ पाएको छ । दर्शकको वर्ड अफ माउथ उत्कृष्ट मिलेकाले आज वीकडेजमा समेत फिल्मको व्यापार राम्रो हुने अपेक्षा निर्माण टिमको छ । दर्शकसँग साक्षात्कार गर्न हल पुगेका कलाकारसँग सेल्फी खिच्न तछाडमछाड नै चलेको थियो ।
फिल्म हेरेका अधिकांश दर्शकले अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको अभिनयको तारिफ गरेका थिए । यस्तै, निर्देशक सिमोस सुनुवारको निर्देशन पनि प्रशंसा गरेका छन् । यत्ति राम्रो मौलिक तथा पुरानो संस्कृतिलाई समेटेर पूर्ण मनोरञ्जनात्मक नेपाली फिल्म निर्माण गरेको भन्दै निर्माता सन्तोष गौतमको पनि तारिफ दर्शकले गरेका थिए ।
दर्शक प्रतिक्रियाले उत्साहित बनाएको फिल्मका मुख्य कलाकार, निर्माता तथा निर्देशकको भनाई थियो । “हामीले फिल्म राम्रो बनाएको प्रतिक्रिया पाएका छौं । दर्शकले हेरेपछि प्रवाह हुने ‘वर्ड अफ माउथ’ ले हाम्रो फिल्मको राम्रो प्रचार भयो भन्नेमा विश्वस्त छौं । हामीले इमान्दारीका साथ् विना सम्झौता फिल्म निर्माण गरेका थियौं,” निर्माता गौतमले भने ।
प्रदीप भारद्वाजको लेखनमा तयार भएको फिल्ममा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।
‘जन्ते बाख्रो’ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढंगले प्रस्तुत गरेको छ । फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ लोकप्रिय छन् । ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले हलमा दर्शकको उपस्थिती सुखद देखिएको हो ।
मुईन इन्टरटेन्मेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टू वान डिजिटलले प्राप्त गरेको छ ।