
आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ।
पूर्वेली मारुनी भाकामा आधारित यो गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ। गायिका अस्मिता अधिकारीको यो पहिलो मारुनी शैलीको गीत हो। गीतका शब्द तथा संगीत प्रशान्त सिवाकोटीले नै सिर्जना गरेका हुन्।
भोजपुरमा छायांकन गरिएको गीतको भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङले नृत्य प्रस्तुत गरेका छन्।
कोरियोग्राफी मौसम हिमालीको रहेको छ। करिब ७/८ वर्षपछि नेपाली फिल्ममा मारुनी शैलीको गीत समावेश भएको बताउँदै फिल्मका निर्देशक अर्जुन सुवेदीले यसले दर्शकमाझ विशेष चासो जगाउने अपेक्षा राखिएको बताए।
फिल्म इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायांकन गरिएको हो। निर्देशक सुवेदीका अनुसार फिल्मले दर्शकलाई फरक स्वादको कथासँग जोड्नेछ। यसले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबीचको प्रेमकथालाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गर्नेछ। प्रकाश सपुत र परीक्षा लिम्बुको जोडी पहिलोपटक यस फिल्ममार्फत एकसाथ पर्दामा देखिन लागेको हो।
फिल्ममा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहेको छ। प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।
‘सोल्टिनी’ का गीतहरूमा संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायांकन सुशन प्रजापतिले गरेका हुन्। फिल्मको कथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्।
प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईं हुन्। रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेका छन् भने आरआर फिल्मस् प्रा.लि.ले नेपालमा वितरण गर्नेछ।
फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
हिजो प्रातकाल रिलिज भएको यस गीतले यो समाचार तयार पार्दासम्म १ लाख १२ हजार बढि भ्यू पाएको छ ।