
अन्तरजातीय प्रेमकथामा निर्माण हुने ‘जदौ’ फिल्ममा अभिनेता मुकुन भुसालको इन्ट्री भएको छ। काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको यस फिल्मको निर्देशन को गर्ने भन्ने कुरा भने हाललाई गोप्य राखिएको छ।
आगामी भदौबाट सुटिङ सुरु हुने फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा केही दिनअघि साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेकी छन् भने अन्य कलाकार तथा प्राविधिकहरूको टुंगो चाँडै लाग्ने जनाइएको छ।
कलाकारको लाइनअप क्रमशः बलियो बन्दै गएको यस फिल्ममा मुकुनसँगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्धित भएको निर्माण टिमले जानकारी दिएको छ।
‘जदौ’ फिल्म सिल्भर स्क्रीन र समिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुँदैछ। फिल्मका सहनिर्माताहरूमा रामराजा सुवेदी, ओम चेम्जोङ र शान्ति तामाङ छन्। फिल्मको छायांकन श्याम तामाङले गर्नेछन् भने गीतमा बाबुल गिरीको संगीत रहनेछ। निर्माण व्यवस्थापन बुद्धि माझीको हुनेछ।
फिल्म ०८२ सालभित्रै निर्माण सम्पन्न गरी प्रदर्शनमा ल्याउने योजना रहेको प्रबन्ध निर्देशक विमला भण्डारीले जानकारी दिएकी छन्।