
राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’ का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन्। तीमध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक मुद्रामा देखिएका छन्।
दोस्रो पोस्टरमा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आ-आफ्नो पात्रअनुसार प्रस्तुत छन्। तेस्रो पोस्टरमा भने फिल्मका मुख्य कलाकार सौगात मल्ललाई मात्र स्थान दिइएको छ, जहाँ उनी बैशाखीको सहारामा निराश मुद्रामा कतै हिँडिरहेको देखिन्छ।
सार्वजनिक पोस्टरहरूले दर्शकमाझ फिल्मप्रति उत्सुकता थप्ने विश्वास निर्माण टिमको छ।
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा सौगात, बेनिशा, श्रीकृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ।
‘सिटामोल’ मार्फत निर्माता तथा निर्देशकले बिम्बात्मक रूपमा नेपाल र आम नेपालीको जीवनशैली तथा समाजमा गढेका कुसंस्कारहरूलाई चिरफार गर्न खोजेका छन्। फिल्मले ती समस्याको उठान गर्दै दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
तुल्सी देवी फिल्म प्रा.लि. ले जुनतारा फिल्म्स सँगको सहकार्यमा निर्माण गरेको यस फिल्मको कथा प्रदीप भण्डारी र निर्देशक सानेले लेखेका हुन्।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्मका निर्माता भुगोल कुमार कार्की र विकास राज जोशी हुन्। कार्यकारी निर्मातामा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी छन् भने गंगाराम श्रेष्ठ सह-निर्माता हुन्।
फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन म्यानेजमेन्ट रहेको छ। फिल्मको छायांकन दिव्य सुवेदीले गरेका हुन्।