
दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित फिल्म ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ। प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थिति थियो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारहरूले दर्शकका रूपमा फिल्म हेरेका थिए। फिल्म हेरेपछि दर्शकहरूले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको व्यापक प्रशंसा गरेका छन्। तर प्रशंसासँगै दर्शकहरूमा एक प्रकारको आक्रोश पनि देखिएको थियो।
फिल्मको परिवेशमा पूर्ण रूपमा भिजेका दर्शकहरूले चर्को स्वरमा आक्रोश पोख्दै ‘महाभोज’ ले विगतमा ‘आगो’ फिल्मले जस्तै विद्रोह जन्माउन सक्ने बताए। उनीहरूले यो फिल्ममा सत्ताधारीहरूलाई नै हल्लाउने शक्ति रहेको विश्वास व्यक्त गरे। केही दर्शकले यदि कसैको दबाबमा फिल्मका दृश्यहरू काटछाँट भएमा त्यसो गर्नेका विरुद्ध आफूहरू उभिने चेतावनीसमेत दिए।
‘महाभोज’ ले सहकारी पीडितको कथालाई विस्तृत रूपमा प्रस्तुत गरेको प्रतिक्रिया काठमाडौंमा केही दिनअघि आयोजित प्रिभ्यु शोबाट पनि प्राप्त भएको थियो, जहाँ दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए। साथै, दर्शकले यो फिल्म मनोरञ्जक रहेको समेत बताएका छन्।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन्। फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ। फिल्म ‘महाभोज’ यही शुक्रबार, जेठ ३० गते देशभर प्रदर्शनमा आउँदै छ। पोखराको सफल प्रिमियरपश्चात् यसको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि क्रमशः आयोजना हुँदैछ।