
फिल्म मिरमिरे मा अभिनेता प्रकाश सपूत अनुबन्धित भएका छन्। भेट्रान अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यस फिल्ममा अनुबन्ध गराइएको हो।
प्रकाश हालका लोकप्रिय कलाकारमध्ये एक हुन्। मिरमिरे फिल्ममार्फत प्रकाश र दयाहाङ पहिलो पटक सहकार्य गर्ने भएका छन्।
अन्य कलाकारबारे भने हालसम्म टिमले जानकारी दिएको छैन। “हामी कलाकारहरूसँग सम्झौताकै क्रममा छौं। केहीसँग कुरा भइरहेको छ,” निर्देशक यम शेर्पाले भने, “हामी अहिले बजारले रुचाएका र अभिनयमा दखल भएका कलाकारहरूसँग काम गर्ने तयारीमा छौं।”
प्रकाश फिल्ममा अभिनेताको भूमिकामा मात्रै रहने कि संगीत पक्षमा पनि संलग्न हुने भन्ने कुरा पछि स्पष्ट पारिने निर्देशक शेर्पाले बताए।
“फिल्म राम्रो बनाउन हामी कुनै सम्झौता गर्दैनौं,” उनले दोहोर्याए। मिरमिरे यम शेर्पाको दोस्रो निर्देशन हो।
कार्साङ फिल्मबाट चर्चामा आएका यमले मिरमिरे को कलाकार र प्राविधिक पक्ष दुवै बलियो हुने बताएका छन्।
अभिनेता प्रकाश सपूतले मिरमिरे मा काम गर्ने अवसर पाएर खुशी व्यक्त गरेका छन्। उनले आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको जनाउँदै फिल्मले आफूलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
यार्सा फिल्म्सको प्रस्तुति रहने यस फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने निर्देशक यम शेर्पाले जानकारी दिए। फिल्मको कथा र निर्देशन दुवै उनले आफैंले गरेका हुन्।
निर्माताहरूमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा, र आङ्छिरिङ शेर्पा छन् भने सह-निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन्।
मिरमिरे २०८२ सालमा रिलिज हुने तय भए पनि प्रदर्शन मिति हाल तय भएको छैन। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।