
पछिल्लो समय नेपाली दर्शकको रुचि कस्तो फिल्ममा छ भनेर कसैले सोध्यो भने सायद अधिकांशले भन्छन्—इमोसनल फिल्ममा। किन भन्ने प्रश्न आयो भने, उदाहरण प्रशस्तै छन्—‘पूर्णबहादुरको सारंगी’, ‘बोक्सीको घर’, ‘एन्जिला’, ‘ऊनको स्वीटर’ आदि।
कमेडीभन्दा आफ्नै जीवन र अनुभवमा आधारित कथाहरू बोकेका इमोसनल फिल्मतिर दर्शक लहसिएका छन्। त्यसैले दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्दै आफूहरू आउन लागेको बताउँछन् फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’का निर्देशक हिमाल न्यौपाने।
“हाम्रो फिल्मको घोषणा भिडियोदेखि अहिलेसम्म आएका प्रत्येक टिजरले यही कुरा प्रष्ट पारेको छ भन्ने लाग्छ,” निर्देशक न्यौपाने भन्छन्, “हाम्रो फिल्मले आम नेपालीले भोगिरहेको समस्या देखाउनेछ। भर्खरै आएको गीतले पनि आमालाई अत्यधिक माया गर्ने छोराले आमालाई खुसी दिन गरेको संघर्ष र पराइको पाइला चालेको कथा प्रष्ट पार्छ।”
न्यौपानेका अनुसार, निम्न वर्गीय र मध्यम वर्गीय नेपालीले भोगिरहेका आर्थिक समस्याहरू यस फिल्मको मूल कथा हुन्। सानो भए पनि ठूलो मन बोकेको छोराको कथालाई ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा देख्न पाइनेछ।
रुमानी कल्पनाभन्दा यथार्थ घटनामा आधारित फिल्म बनाउने चाहना भएकाले आफूले यो फिल्म निर्देशन गरेको उनी बताउँछन्।
यो फिल्म भदौ ६ गते रिलिज हुँदैछ। विजय बराल मुख्य भूमिकामा छन्। निर्माण पक्षले उनलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ। छायांकन सकिएको यो फिल्म अहिले पोस्ट–प्रोडक्सनमा छ।
फिल्मको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो। सह–निर्देशकमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन्।
विजयसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापाको अभिनय रहनेछ।
पेपरक्लिप ब्यानरअन्तर्गत निर्माण भएको यस फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिल्सिना र चुडामणि सिवाकोटी छन्।
संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटी छन्। डीओपी नवीन गुरुङ र सिनेमेटोग्राफर कृष्ण परियार हुन्।
कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेश बहादुर राउत मुख्य सह–निर्देशक छन् भने तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सह–निर्देशकका रूपमा छन्। निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन्।
फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ।
‘पूर्णबहादुरको सारंगी’ जस्तो ब्लकबस्टर फिल्मपछि विजय बरालको मुख्य भूमिकामा आएको यो वर्षको पहिलो फिल्म हो। सन् २०८१ मा नेपाली फिल्म उद्योगलाई ब्लकबस्टर दिने अपेक्षा गरिएको यस फिल्ममा विजय र केकी एकसाथ देखिँदै छन्।