
तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्। यो फिल्म चन्द्र पन्तको निर्देशनमा बन्न लागेको हो।
निर्देशक पन्तले प्रदीप रावतलाई फिल्ममा अनुबन्ध गरिएको जानकारी दिएका छन्। उनले भने, “‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौं। उहाँ यो फिल्ममा पल शाहको बुबाको भूमिकामा देखिनुहुनेछ। उहाँ नितान्त नेपाली लोक जीवनशैली अनुसारको भूमिकामा अभिनय गर्दै हुनुहुन्छ।”
नेपाली फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको अभिनेता रावतले बताएका छन्। यसअघि उनले ‘ह्रस्वदीर्घ’ फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको बुबाको भूमिकामा अभिनय गरेका थिए, जुन क्यारेक्टरलाई दर्शकले मन पराएका थिए। ‘ह्रस्वदीर्घ’ र ‘माई’ दुबै फिल्ममा निर्देशक चन्द्र पन्तकै निर्देशनमा उनले काम गरिसकेका छन्।
यस फिल्ममा यसअघि नै विपना थापा र पल शाह अनुबन्ध भइसकेका छन्। चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’मार्फत विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्। अब उनी निर्देशक पन्तको दोस्रो फिल्म ‘आ बाट आमा’मा पनि सहकार्य गर्न लागेकी हुन्।
फिल्मको स्क्रिप्ट अभिमन्यु निरवीले तयार पारेका हुन् भने फिल्म भदौबाट फ्लोरमा जाने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ। प्रदीप, विपना र पलसँगै अन्य कलाकारहरूको पनि छनोट प्रक्रिया जारी छ। प्राविधिक टोलीसमेत छिट्टै टुंगो लाग्ने निर्देशक पन्तले बताएका छन्।
थिम पोस्टर दुई साता अघि सार्वजनिक गरिएको थियो। निर्देशक पन्तका अनुसार फिल्म आगामी फागुन १५ गतेदेखि प्रदर्शनमा आउनेछ।