‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को यस्तो क्यारेक्टर लुक्स सार्वजनिक

0 Shares

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न सुरु गरेको छ।

केही दिनअघि मुख्य कलाकार विजय बरालको क्यारेक्टर लुक सार्वजनिक गरेको निर्माण पक्षले आज भोलाराज सापकोटा र आरुस भुसालको लुक सार्वजनिक गरेको हो।

भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा देखिन्छन्। झुस्स दाह्रीमा उनी अलिक तनावग्रस्त देखिएका छन्। उनीसँगै रहेका आरुस भुसाल झोला बोकेका छन्, कपाल मुन्डन गरिएको, रातो लुगामा देखिन्छन्। पसिनाले भिजेको उनको लुगाले कठोर मेहनतको आभास दिन्छ।

आरुसको यो स्वरूपले उनी संस्कृत भाषा पढिरहेका विद्यार्थीको संकेत गर्छ। पृष्ठभूमिका मन्दिरहरूले यस संकेतलाई पुष्टि गर्छन्। उनी फिल्ममा भोलाराज सापकोटाको छोराको भूमिकामा छन्।

आरुस भन्छन्, “यो संसारमा सबैभन्दा महँगो केरू बाबाको पसिना रहेछ।” यसले बुबाले छोराका लागि गरेको संघर्षको भाव दर्शाउँछ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ हिमाल न्यौपानेको निर्देशनमा बनेको फिल्म हो। भदौ ६ गते रिलिज हुने यो फिल्म अहिले पोस्टप्रोडक्सनमा छ।

फिल्मका एसोसियट निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत हुन्। राउतका अनुसार, “फिल्मले बाबु–छोराबीचको सम्बन्धलाई सूक्ष्म र भावनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। यो सम्बन्ध महसुस गर्न सकिन्छ, तर शब्दमा बयान गर्न कठिन हुन्छ।”

बलियो लाइनअप रहेको फिल्ममा विजय, भोलाराज, आरुससँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन्।

फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको छ भने नवीन गुरुङ डीओपी र कृष्ण परियार सिनेमेटोग्राफर हुन्। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्। गोविन्द शाहीको काफिया फिल्म्सले वितरणको जिम्मा लिएको छ।

अल टाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो वर्षको पहिलो फिल्म हो। वि.सं. २०८१ मा नेपाली फिल्म उद्योगलाई ब्लकबस्टर दिन लागेका विजय र केकी यस फिल्ममा सँगै प्रस्तुत हुँदै छन्।

सम्बन्धित समाचार

सबै