
एस एण्ड एस प्रोडक्सनको ब्यानरमा फिल्म ‘किन लाग्छ माया’ निर्माणमा आउने भएको छ। मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन असारको पहिलो साताबाट सुरु हुने भएको छ।
फिल्ममा सञ्जीत भण्डारी, ऋचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीका नामले चिनिएकी पवित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारको अभिनय रहनेछ।
फिल्मको मुख्य भूमिकामा मेघ सुवेदी रहेका छन्। उनले यसअघि दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।
स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुष्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्ले को कोरियोग्राफी, तथा राजेन्द्र खड्गीको एक्सन रहनेछ।
अर्जुन प्रसाद पोखरेल फिल्मका निर्माण नियन्त्रक रहेका छन्। रामशरण कोइरालाको मुख्य सहायक निर्देशन रहनेछ भने दिप्त प्रकाश अधिकारी र सुवास गोतामे सहायक निर्देशकका रूपमा रहनेछन्।
फिल्मको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा गरिनेछ।
फिल्मले दाजुभाइबीचको सम्बन्ध, एक-अर्काप्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ। साथै, सामाजिक विषयवस्तुलाई पनि मुख्य रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।