
‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन्। दयाहाङ राई र प्रकाश सपूतपछि ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश भएको हो।
सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन्, जहाँ उनको प्रशंसा भएको थियो।
पहिलो फिल्ममा पनि दयाहाङसँग सहकार्य गरेकी उनले दोस्रो फिल्ममा पनि दयाहाङसँगै काम गर्ने भएकी छन्।
“मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु। महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु,” उनले भनिन्, “यो विश्वासका लागि सबैभन्दा पहिले निर्माण टिम र निर्देशकलाई धन्यवाद दिन चाहन्छु।”
आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।
‘मिरमिरे’मा सिर्जनाको जोडी को हुने हो भन्ने विषयमा निर्माणपक्षले केही खुलाएको छैन।
अन्य कलाकारको लाइनअपबारे पनि निर्माण टिमले जानकारी दिएको छैन। तर, हालसम्मका कलाकार हेर्दा बलियो लाइनअप ‘मिरमिरे’मा देखिने निश्चित छ।
‘मिरमिरे’लाई यम शेर्पाले निर्देशन गर्दैछन्। उनले फिल्म राम्रो बनाउन कलाकार र प्राविधिकको लाइनअप बलियो बनाउने बताए।
यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिएका छन्। फिल्मको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन्।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेका ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन्।
यो फिल्मको कार्यकारी निर्माता आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल हुन्।
‘मिरमिरे’लाई २०८२ सालमा रिलिज गरिनेछ। प्रदर्शन मिति भने तय भएको छैन। फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ।