
नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरिरहेको नेपाली फिल्म ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ। अस्ट्रेलियाका विभिन्न सहरहरू र दक्षिण कोरियामा फिल्म प्रदर्शन हुने भएको छ, भने जापानमा यसको प्रदर्शन जारी नै छ। कोरियामा हिमालयन के-भाइब्स इन्टरटेन्मेन्ट ले वितरण गर्दैछ भने जापानमा सेभेन समुराई इन्टरटेन्मेन्ट ले फिल्म रिलिज गरेको छ।
‘महाभोज’को अस्ट्रेलिया प्रिमियर यसअघि जुन १ तारिख, शनिबार पर्थमा सम्पन्न भइसकेको छ। अब अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्ट ले जुन १९ र २२ मा क्यानबेरा तथा जुन २१ र २२ मा ब्रिसबेनमा प्रदर्शन तय गरेको छ। यस्तै एडिलेड, मेलबर्न र तास्मानियामा पनि नियमित प्रदर्शनको तयारी भइरहेको छ, जसका लागि शो मितिहरू चाँडै घोषणा गरिने बताइएको छ।
दिनेश राउत को निर्देशनमा बनेको फिल्मले सहकारी ठगीको मारमा परेका परिवारको मर्मस्पर्शी कथालाई पर्दामा उतारेको छ। यसले समाजमा सहकारी ठगीले पारेको प्रभाव र त्यसबाट हरेक व्यक्ति कसरी प्रभावित हुन्छन् भन्ने विषयलाई मनोरञ्जनात्मक र भावनात्मक दुवै ढंगले प्रस्तुत गरेको छ।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला को सशक्त अभिनय रहेको छ। क्लक वर्क क्रियसन र पिक्चर फ्रेम को संयुक्त प्रस्तुति रहेको यो फिल्मका निर्माता हिमाल कडरिया हुन्।
नेपालमा शुक्रबारबाट रिलिज भएको फिल्मलाई देशभरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ, जसले यसको अन्तर्राष्ट्रिय प्रदर्शनलाई थप उत्साहजनक बनाएको छ।